अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:११ | Colorodo: 19:26

उपनिर्वाचन : माओवादी उत्साहित , निराशामा कांग्रेस, एमाले र रास्वपा

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:३८ मा प्रकाशित

स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । अब तीन स्थानमा मात्रै बाँकी छ । बाँकी रहनेका स्थानहरूमा कीर्तिपुर नगरपालिका (मेयर), गौरीशंकर गाउँपालिका (उपाध्यक्ष) र बेलका नगरपालिका (वडा नं. ९ को वडाध्यक्ष) छन् । अहिलेसम्म कांग्रेसले १६ वडामा जित हासिल गरेको छ । ४१ स्थानमा उम्मेवारी दिएको कांग्रेसले अध्यक्षरमेयर र उपाध्यक्षरउपमेयरमा भने जित निकाल्न सकेको छैन ।

माओवादी केन्द्रले एक अध्यक्ष, एक उपमेयर, एक उपाध्यक्षसहित ६ वटा वडा जितेको छ । ४० स्थानमा उम्मेदवारी दिएको माओवादीले भने अपेक्षित नतिजा हात पारेको छ । यस्तै एमालेले एक अध्यक्ष, एक उपाध्यक्षसहित ५ वडा जितेको छ । ३९ स्थानमा उम्मेदवारी दिएको एमालेले अपेक्षित नतिजा ल्याउन सकेन । रास्वपा त झन् एउटा वडामा सीमित छ । २७ स्थानमा उम्मेदवारी दिएको रास्वपाले अहिलेसम्म काठमाडौं महानगरपालिका १६ मा मात्रै जित हासिल गरेको छ ।

मतपरिणामबाट माओवादी केन्द्रबाहेक अरु दलहरू सन्तुष्ट छैनन् । माओवादीले सम्मानजनक मत लिएर आएको छ । ४४ स्थानमा भएको उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, एक उपमेयर र एक उपाध्यक्षसहित ९ स्थानमा जित हालिल गरेको छ । यसलाई माओवादी केन्द्रका नेताहरूले ‘माओवादी केन्द्र एक्लै पनि लड्न सक्छ’  भन्ने अर्थका रूपमा बुझेका छन् । माओवादी केन्द्रका नेता सरल सहयात्रीले भन्नुभयो, ‘उपनिर्वाचनको मतपरिणामले माओवादी केन्द्र एक्लै पनि लड्न सक्छु भन्ने सन्देश दिएको छ । मत सधैँ एक ठाउँ मात्रै बसिरहँदैन रहेछ’ ।

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा पार्टीले उकालो गति लिएको बताउँनुहुन्छ । ‘माओवादी केन्द्र उकालो लागेको छ भन्ने कुरा मतपरिणाममा देखियो । हामी उत्साहित छौँ’, प्रवक्ता सापकोटाले भन्नुभयो । त्यसो त रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले नै जित्यो, जहाँ दुई ठूला दलहरू कांग्रेस(एमालेले गठबन्धन गरेका थिए तर, जित भने माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाको भयो ।

सत्तारूढ दलहरू कांग्रेस र एमाले भने मतपरिणामबाट उत्साहित हुन सकेनन् । कांग्रेसले त पहिले जितेको पालिका नै गुमायो । उसले एउटा पालिकासमेत जितेको छैन । कांग्रेसले जम्माजम्मी १६ वटा वडा मात्रै जितेको छ । त्यो नतिजा कांग्रेसका लागि अपेक्षित नभएको नेता मीन विश्वकर्मा बताउँनुहुन्छ । ‘हाम्रो लागि यो अपेक्षित भएन,’ नेता विश्वकर्माले भन्नुभयो, ‘पहिला जस्तो मतदाताहरू मत हाल्नकै लागि पनि नफर्किने रहेछन् । तर, समग्रतामा भन्दाखेरि पहिले हामीले जितेको स्थानमा अरु दलहरूले जिते, पहिले अरु दलहरूले जितेको ठाउँमा हामीले जित्यौँ । तर, परिणाम अपेक्षित होइन ‘।

एमालेले पनि अपेक्षित नतिजा ल्याउन सकेन । समानुपातिक समर्थनका हिसाबले पहिलो दल एमाले तेस्रो माओवादी केन्द्रभन्दा पनि पछि पर्दा नेताहरूले यसको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । एमाले नेता महेशकुमार बर्तौला जनताले गरेको निर्णयको सम्मान गर्ने बताउँनुहुन्छ। ‘जनताले गरेको निर्णयलाई ठीक वा बेठीक भनेर भन्दैनौँ हामी,’ नेता बर्तौला भन्नुहुन्छ ‘हारिएको ठाउँमा तयारी पुगेन होला । जनताले अर्कोपटकलाई प्रतीक्षा गरे होलान् । तर, समीक्षा गरेर अगाडि बढ्छौँ’ । यद्यपि, एमालेभन्दा कांग्रेसको नतिजा सम्मानजनक देखिन्छ । कीर्तिपुर नगरपालिकाको मेयर कांग्रेसले जित्ने सम्भावना छ । अहिलेसम्मको नतिजाअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धनभन्दा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल झन्डै पाँचसय मतान्तरले अघि हुनुहुन्छ ।

उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि झड्का दिएको छ । ऊ अहिलेसम्म काठमाडौं महानगरपालिका १६ मा सीमित छ । २७ स्थानमा उम्मेदवारी दिएको रास्वपाको दर्जनभन्दा बढी स्थानमा त जमानत नै जफत भएको छ । अघिल्लो स्थानीय तह निर्वाचन हुँदा ‘गर्भमै रहेको, रास्वपालाई संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचन भने फापेन, रास्वपा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू