अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१२ | Colorodo: 11:27

प्रधानमन्त्री ओली बेइजिङमा

बिआरटीनेपाल २०८१ मंसिर १७ गते ६:२९ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल पुगेको हो ।ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा आज बिहान चीन जानुभएको हो । प्रधानमन्त्री ओलीलाई भोलि चिनियाँ समकक्षी छ्याङले स्वागत गर्ने र त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री ओलीले भोलि नै चीनका राष्ट्रपति सी जिनपिङसँग पनि भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । यस्तै उहाँले नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नु हुने छ । प्रधानमन्त्री ओलीको चार दिने भ्रमणमा नेपाल र चीनबीच कम्तीमा आठ वटा समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुने र चीनले आठ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी अनुदान सहायता उपलब्ध गर्ने सम्बन्धमा सहमति हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमणमा मुख्य एजेन्डाका रूपमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतको सहायतालाई लिइएको छ । सरकारले ‘बीआरआई’ अन्तर्गत अनुदान मात्रै स्वीकार गर्ने बताएको छ । सत्तारूढ कांग्रेस–एमालेबीच पनि ऋण नलिने सहमति भएको छ । प्रधानमन्त्रीको ८७ सदस्यीय भ्रमण टोलीमा मन्त्रिपरिषद्बाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा मात्रै सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू