रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राजधानी किभस्थित महत्वपूर्ण सरकारी, राजनीतिक तथा सैन्य अखडाहरुमा आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।गत दुई दिनमा रुसले सय वटा ड्रोन तथा ९० भन्दा बढी मिसाइल प्रहार गरेको पुष्टी गर्दै पुटिनले आवश्यक परे युक्रेनले राजनीतिक निर्णय दिने महत्वपूर्ण अखडाहरुलाई निशाना बनाउने चेतावनी दिनुभएको हो ।
काजकिस्तानको राजधानी अस्तानामा पूर्व सोभियत राष्ट्रहरूको सुरक्षा गठबन्धनको बैठकलाई सम्बोधन गर्दै पुटिनले यस्तो धम्की दिनुभएको हो । युक्रेनले अमेरिका तथा अन्य पश्चिमा देशहरुले दिएको लामो दुरीको क्षेप्याष्त्र आफ्नो भूमिमा प्रयोग गर्न थालेछि रुसले पनि यक्रेनमाथि आक्रमण तिव्र पारेको छ । रुसले मध्यम दुरीको अत्याधुनिक हतियार ‘ओरेश्निक’ मिसाइल प्रयोग गर्न थालेको पुटिनले जानकरी दिनुभयो । रुसी दाबी अनुसार आकाशमा शत्रुहरुले नष्ट गर्न नसक्ने यो क्षेप्याष्त्रले आणविक हतियार सरह क्षति पुर्याउन सक्छ ।