अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२४ | Colorodo: 10:39

नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौतामा हस्ताक्षर

बिआरटीनेपाल २०८१ मंसिर १३ गते ४:५७ मा प्रकाशित

नेपाल र फिनल्यान्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ ।नेपाल सरकार र फिनल्यान्ड सरकारबीच फिनल्यान्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्यान्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गर्नुभएको छ ।

नेपालमा सामाजिक–आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने सम्झौताको लक्ष्य रहेको छ । अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत्, डिजिटलाइजेशन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक–आर्थिक पूर्वाधारमा लगानी गर्न सम्झौताले भूमिका खेल्नेछ ।

नेपाल अतिकम विकसित देश (एलडीसी) को सूचीमा परेकाले पचास प्रतिशत आर्थिक सहायता अनुदानका रूपमा उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले यो सम्झौता नेपालको आर्थिक–सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो । यस्तै फिनल्यान्डका विकासमन्त्री भिल्ले ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्यान्डबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू