अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३४ | Colorodo: 09:49

नेपाल विद्युत प्राधिकरणद्धारा बक्यौता नतिर्ने उद्योगका खाता रोक्कादेखि शेयर निष्कासन रोक्न पत्राचार

बिआरटीनेपाल २०८१ मंसिर १२ गते ५:१७ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन वटा निकायमा पत्राचार गरेको छ । प्राधिकरणले आज नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिश गरेको हो ।

प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ । यस्तै प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिदरबिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ । साथै प्राधिकरणले कम्पनी रजिस्ट्रारलाई पत्र लेखेर शेयरको हक हस्तान्तरण र धितो बन्धक रोक्का गर्न आग्रह गरेको छ ।

बक्यौता तिर्न बाँकी रहेका ३४ वटा उद्योगले थप दस्तुरसहित जोडेर ६ अर्ब ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जसरी पनि उद्योगको बक्यौता उठाउने योजनामा हुनुहुन्छ । तर बिजुली नकाट्न सरकार र विद्युत् नियमन आयोगले पत्र नै लेखेपछि घिसिङले वैकल्पिक उपाय लगाउनुभएको हो ।

यसअघि गएको कात्तिक २५ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योगहरूसँग १५ दिनभित्र बक्यौता उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको थियो । १५ दिन आज पुगेको छ । प्राधिकरणले आज लाइन काट्ने तयारी गरेकोमा सरकार र आयोगले पत्र पठाएर लाइन काट्न रोकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू