गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय स्रोतका अनुसार, पर्साका सीडीओ गणेश अर्याल र महोत्तरीका सीडीओ लालबाबु कवारीलाई स्पष्टीकरण सोधिएको हो । पदीय मर्यादा बाहिर गएर अभिव्यक्ति दिएको र आर्थिक अनियमितताबारे गृह मन्त्रालयमा गुनासो आउन थालेपछि सीडीओद्वय अर्याल र कवारीलाई गृह मन्त्रालय नै बोलाएर स्पष्टीकरण सोधिएको स्रोतले बताएको छ ।
‘गृहमन्त्रीज्यूकै निर्देशमा उहाँहरूलाई जिल्लाबाट मन्त्रालय बोलाएर मंगलबार स्पष्टीकरण सोधिएको हो । चित्तबुझ्दो भएन भने मन्त्रालय तानिन पनि सक्छन्’, स्रोतले भनेको छ । गृह मन्त्रालयका अनुसार, सीडीओ कवारीलाई कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको हो । अर्यालले केही दिन अगाडि वीरगञ्जमा एक अस्पताल तोडफोडसम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ ।