ब्राजिलको सङ्घीय प्रहरीले पूर्वराष्ट्रपति जायर बोल्सोनारो र अन्य ३६ जनाविरुद्ध अभियोग दर्ता गराएको छ । सत्ता कू गर्ने प्रयास, आपराधिक सङ्गठनमा सहभागिता र अन्य अपराधका लागि पूर्वराष्ट्रपति बोल्सोनारो र उनको समूहका व्यक्तिहरूविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गराएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०२२ मा भएको चुनावमा लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । चुनावमा हारेपछि बोल्सोनारोको आह्वानमा ब्राजिलभर हिंसात्मक प्रदर्शन भएका थिए ।
सङ्घीय प्रहरीका अनुसार प्रतिवादीहरू सङ्गठित अपराध समूहका सदस्यका रूपमा कार्यरत थिए । यस्तै गलत सूचना फैलाउने, चुनावी प्रणालीलाई कमजोर पार्ने, सशस्त्र सेनालाई विद्रोहमा संलग्न हुन उक्साउने र जबरजस्ती कार्यहरू गरेको समेत अभियोग लगाइएको प्रहरीले जनाएको छ । अभियोगलाई महान्यायाधिवक्ताको कार्यालयले समीक्षा गरेर थप कानूनी प्रक्रिया अघि बढाउने समाचारमा उल्लेख छ ।