नेपाली साहित्य आकाशमा श्रुति परम्पराबाट सुरु भएको साहित्यको महत्वपूर्ण एवं चर्चित विधाहरूमा एक कथा पनि हो। यस विधाको उन्नयनका आरोह अवरोह नियाल्दा विविध काल खण्ड र युग पार गरेको छ । कथावस्तु, संरचना, परिवेश,सन्देश, उद्देश्य आदिका आधार नियाल्दा विविध बाद,धारा, प्रवृत्ति परिवेशका कोइनेटाहरू पार गर्दै आधुनिक युगमा प्रवेश गरेको पाइन्छ । आख्यानको महत्वपूर्ण विधा कथाले अन्य विधा सरह शास्त्रीयताको माखेसाङ्ला पच्छाएको भने पाइँदैन । जीवन र समाजको पर्याय मानिने कथा परिवर्तित समाजको श्रृङ्खलामा समाज र जीवन जस्तै संरचना, सन्देश र स्वरूप पनि जटिल बन्दै गइरहेको प्रतित हुन्छ। नेपाली साहित्यका विविध विधामध्ये विशेषगरी निबन्ध र समालोचनामा आफ्नो विशिष्टता प्रमाणित गरिसकेका साहित्यकार गोपी मैनाली (२०२०) केवल साहित्यकार मात्र होइनन् उनी त कुशल प्रशासक समेत हुन् । जीवनका विविध पाटालाई एउटै डुङ्गामा सवार गराउन सफल व्यक्ति प्रशासक, व्यवस्थापक, प्राध्यापकका साथै नेपाली साहित्यका द्रष्टा एवं स्रष्टा समेत हुन् । नेपाली साहित्यमा २०३८ सालमा फुट्कर कविता मार्फत प्रवेश गरेका मैनालीले कविता, कथा, निबन्ध, समालोचना लगायत विविध व्यावसायिक विषयमा सोध अनुसन्धानका साथ लेखहरू समेत प्रकाशन गरी आफ्नो विद्वता प्रस्तुत गरेका छन् । साहित्यिक सिर्जना मार्फत मात्र नभई राष्ट्र निर्माणको महत्त्वपूर्ण हिस्सा ओगटेको प्रशासनिक सुधारका लागि अध्ययन अनुसन्धान एवं शोध गरी व्यावसायिक लेख र सीपमूलक प्रशिक्षण समेत प्रदान गरी आफ्नो विज्ञता प्रस्तुत गर्दै आइरहेका छन् । नेपाली साहित्यमा निबन्ध विधाको कृति ‘अवसाद अभिनयी'(२०४०) प्रकाशित गरी कृतिकार बनेका गोपी मैनालीको ‘आँखाभरि रमिता मनभरि वेदना’ (२०६३) यात्रा निबन्ध ‘अपेक्षा र अनुभूति'(२०७४) ‘घाउ आफैलाई दुख्छ’ (२०७८) गरी निबन्ध विधामा चारवटा कृति प्रकाशित गरेका छन् । त्यसैगरी समालोचनातर्फ ‘सिद्धिचरण श्रेष्ठ :कृति र प्रवृत्ति विश्लेषण’ (२०६८) ‘अभिव्यञ्जना यात्राप्रति’ (२०७९) र ‘रमेश विकल: समालोचनात्मक अन्वेषण’ (२०८०) समेत तीनवटा समालोचना प्रकाशित गरेका मैनालीले कथा विधाको नविनतम कृति ‘विशृङ्खलित सपना’ (२०८१)मार्फत आठौं कृतिकारका रुपमा आफूलाई स्थापित गरेका छन् । निबन्ध र समालोचनामा कलम चलाउन सिद्धहस्त गोपी मैनालीद्वारा लिखित कथामा सरलता, सहजता परिपक्वता र मनोहरता प्रस्तुत भएको छ । उनका कथामा पाइने विशेषताका आधारमा पनि उनको कलम सशक्त र मजबुत देखिन्छ।
मैनालीकृत’ विशृङ्खलित सपना’ कथा संग्रहमा जीवनका विविध पाटा र परिवेश उजागर गरिएका १७ वटा कथाहरू संकलित छन्। देशका विभिन्न भूभाग विशेषगरी पहाडी, उपत्यका र छिटपुट तराईको भूमिलाई कथाको परिवेशमा समेटिएको छ। प्रस्तुत संग्रह मा संग्रहित कथा गुल्नारामा जापानी भूमिको परिवेश समेटिएको छ। मैनालीका कथामा सामाजिक, राजनीतिक, आर्थिक एवं धार्मिक अवस्था र व्यवस्थाले प्रताढित पात्रहरु जुर्मुराएका छन्। समाज, संस्कार, अवस्था,व्यवस्था र धर्म संस्कृतिले मानव जीवनलाई पार्ने प्रभाव देखाई गृहित प्रभावले जीवनमा ल्याउने उथुलपुथुल देखाइएको छ। उनका कथामा पात्रहरु सङ्घर्षशील छन्। यथास्थितिप्रति विद्रोह र परिवर्तनको चाहनाका बोकेका छन् । अप्राप्य तर चाहत सुखको खोजीमा शारीरिक, मानसिक र आर्थिक रूपमा प्रताडित छन् । उनका कथामा रहेका पात्रहरू सुख समुन्नतिको किरण खोज्न हिँडेका छन् तर विविध कारणले अवनतिको खाडलमा धकेलिनुपर्दाको पीडा छताछुल्ल भएको छ। दुःखले सबैको मन छुन्छ भन्ने भनाईप्रति मैनाली विश्वस्त देखिन्छन्। त्यसैले होला उनका कथामा दुःख, पीडा, मृत्यु र बिछोड समेटिएको छ। राष्ट्रमा विद्यमान अवस्थाप्रति पात्रहरूको अभिव्यक्तिद्वारा सूक्ष्म ढंगकाे विद्रोह गरेको देखिन्छ । किनकि आशाभन्दा बढी निराशाको छाप देखिनु , अवस्था र व्यवस्थाबाट सिर्जित उत्कण्ठा कथामा अभिव्यक्त हुनु । कर्मचारीतन्त्र, गरिबी, अशिक्षा, अभाव, महत्वकांक्षा अज्ञानता र देखासिखीपन आदि पात्रको पतनका कारण देखाउनु कथाकारको शिल्पताको बलियो प्रमाण हो।
हामी सबै उस्तै उस्तै कथा हौँ भन्ने शीर्षकमा लेखक भन्दछन् ‘मानिसहरू आफ्ना कुरा अरुसम्म पुर्याउन कथा लेख्दा रहेछन्।’ आन्तरिक अनुभूति, सपना र विचार फिजाउन कथा लेखिएको अनुभूति गरेका लेखकका कथामा धेरै उनका आफ्ना निजी अनुभूतिले कथा सिङ्गारिएको छ । आत्मानुभूति एवं उनी आफू हुर्के बढे र पढेको ठाउँ, बाल्यकालमा खेलेको रोशी खोला, चौतारो जन्मदाता, जन्मभूमि र कर्मभूमि र कर्म गर्दा पुगेका स्वदेश तथा विदेशका स्थानमा उनले देखेका, भोगेका र अनुभूति गरेका घटनाक्रम र उत्पन्न विचार पात्रहरूका अभिव्यक्ति बनेका छन् । उनले देखेका, स्पर्श गरेका र यत्रतत्र छरिएका पात्रहरूलाई कथामा टपक्क टिपेर बिस्कुन बनाएका छन् । उनका पात्र कतै पनि काल्पनिक प्रतीत हुँदैनन् । यथार्थतामा विश्वास गर्ने कथाकारले यथार्थ घटनालाई कथाको सामल बनाएका छन् । परिवेश भाव र सन्देश मार्फत यथार्थता प्रस्तुत गरेका कथाकारका पात्र सम्भवत वास्तविक हुन् कि भन्ने अनुभूति हुन्छ। यही वास्तविकताको झंकार उत्पन्न गर्न सक्नु कथाकारको अभिष्ट देखिन्छ । उनी कथा मार्फत यथार्थता प्रस्तुत गर्दै आफ्नो अभिष्ट पुरा गर्न सफल भएका छन् । उनको संग्रहमा संग्रहित पहिलो कथा आमासँग कुरा गर्ने धोकोमा आफ्ना सन्ततिका सुख र खुसीका लागि आफ्नो शरीर क्यान्सर जस्तो रोगबाट ग्रसित हुँदापनि आफूभन्दा सन्ततिको भविष्यप्रति चिन्तित आमा र जागिर र कर्तव्यको चपेटामा प्रताडित सन्तान, जसले सहज रुपमा आमाबाबुको सेवा भावमा हरपल समर्पित हुन असमर्थ भएको कारुणिक चित्कार प्रस्तुत गरिएको छ । यस कथामा सन्तानले गर्ने प्रेममा जति समर्पित हुनुपर्ने हो त्यति नभएकोमा कथाकारको गुनासो छ । उनी सन्ततिलाई प्रश्न गर्छन् ‘आमाबाबु सन्ततिको खुसी खोज्ने मेसिन हो’ ? पराजित शीर्षकको कथामा इमान्दार कर्मठ कर्मचारीले भोग्नुपरेको पीडा र चाकडी चाप्लुसी गर्ने कर्मचारीले प्राप्त गरेका अवसर देखाई वर्तमान कर्मचारी तन्त्रमा देखापरेका हिनताबोध र राजनीतिक हस्तक्षेपबाट सिर्जित कर्मचारी मनोविज्ञान देखाइएको छ ।
गुल्नारा कथामा जापानमा सञ्चालित तालिममा सहभागी भएका विभिन्न देशका प्रतिनिधिद्वारा विभिन्न देशका भाषा, परिवेश, संस्कार र संस्कृति देखाउने चेष्टा गरिएको छ। सिरियाली रफिक सँगको प्रेममा फसेकी गुल्नारा मुस्लिम मूलकी हुँदाहुँदै पनि आफ्नै धर्म सम्प्रदायद्वारा गरिएको बर्बरता झेल्न बाध्य भएकी छ। महिलामाथि गरिएको बर्बरताको चित्रण गर्नुका साथै गुल्नारा कथामा महिला स्वतन्त्रताको वकालत गर्दै धार्मिक अन्धताप्रति व्यङ्ग्यप्रहार गरिएको छ। गुल्नारा सङ्घर्षशील हुँदाहुँदै पनि यौन आवेगलाई प्रेम सम्झँदा दलदलमा फसिसकेपछि पनि हरेस नखाई पुनः आफूलाई जीवित राख्न सफल सङ्घर्षशील पात्र हो। प्रस्तुत कथामा महिला सशक्तिकरणका लागि महिला आफै शक्तिशाली र क्रियाशील हुनुपर्नेमा जोड दिइएको छ।
धुल्पुरे त बगाएछ ! शीर्षकको कथामा रोशीखोला नजिकको धुलपूरे बजार बाढीले बगाउँदाको दृश्य मार्फत प्राकृतिक विपत्तिको अवस्था वर्णनका गरिएको छ । प्रकृति वर्णन र समाज मनोविज्ञान प्रस्तुत गरिएको कथामा ग्रामीण जनजीवनका यथार्थता र प्राकृतिक मनोरमताको सुन्दर तस्बिर उतारिएको छ । साथी राम थापा कथामा राम थापाले साथीलाई सोधेर विवाह गरेको छ तर विवाह पश्चात कार किन्न नसक्दा श्रीमतीसँग सम्बन्धविच्छेद हुन्छ। यहाँ कथाकारले वर्तमान सम्पत्तिमा लिप्त संस्कारप्रति व्यङ्ग्य गर्दै भनेका छन् ‘विवाह त विश्वास हो।’ जुन विश्वासको खडेरीमा राम थापा परेको छ। उसको जीवन डढेको छ । जीवन सुन्दर नहुनु, दोस्रो विवाहको झन्झटमा पर्नु ,विदेश यात्रा आदि विविध घटनाक्रम वर्णन गरिएको छ । यहाँ अविश्वास र पारिवारिक महत्त्वकांक्षाले घटित दुर्घटनामा जीवन ढलेको दृश्य प्रस्तुत गरिएको छ।
सधैँ असुरक्षित शीर्षकको कथामा ‘छोरीका लागि उमेर नै असुरक्षा हो’ भन्दै समाजको नजर र मनोविज्ञान चित्रण गरिएको छ। यहाँ महिला घरमा, स्कुलमा, समाजमा काहीँ कतै सुरक्षित छैनन् । यो सुरक्षाको प्रक्रिया वैदिक युगदेखि महिलामाथि निरन्तर छ भन्ने यथार्थ देखाइएको छ । विवेक र विपुल पात्र मार्फत समाज मनोविज्ञान र नारी पात्र मार्फत नारी अस्तित्व र अस्मिताको खोज गरिएको छ । विसमको मोटरसाइकल शीर्षक कथामा आन्दोलन, हड्ताल, पुलिस, पत्रकार लगायतका पात्रहरूको मुकदर्शकता आत्माहिनता, विवेक शून्यता आदिबाट दण्डहीनता ,अराजकता र अकर्मण्यता मौलाउँदै गएको परिदृश्य देखाइएको छ । सबैले माया गर्दा रहेछन् कथामा मरणोपरान्त सम्मान गर्ने तर जिउँदो छउन्जेल अपहेलना र घृणा गर्ने संस्कारप्रति व्यङ्ग्य गरिएको छ । यस कथा मार्फत वर्तमान समाजमा मानवलाई मानवीय व्यवहार नगरी मरणोपरान्त सम्मानको ढोङ्ग गर्ने प्रवृत्ति र समाज मनोविज्ञान प्रस्तुत गरिएको छ । संवेदनहीन बन्दै गइरहेको र सभ्यता पतन उन्मुख अवस्था देखाउनु नै कथाकारको उद्देश्य देखिन्छ । साथी र सापटी कथामा म पात्र पटकपटक ठगिएका छन्। साथीबाट प्रताडित छन्। विदेशमा समेत ठगिएका म पात्र मार्फत बढ्दो मानवीयता ठगी प्रवृत्तिप्रति चिन्ता व्यक्त गरिएको छ। आवश्यकता पर्दा रूप बदल्ने छेपारे साथीहरूको जमातमा विश्वासिलो र भरपर्दो साथीको अभाव खड्किएको छ। साथी साथी जस्ता छैनन् सबै स्वार्थी र पैसा मुखी बन्दै गइरहेको सभ्यता उजागर गर्न कथा सफल देखिन्छ।
सरोजको विदेश मोह शीर्षकको कथामा पण्डित बा र पण्डितनीको छोरा सरोज सहर पढ्न पठाउने सरसल्लाह भएको छ । पात्रहरूका संवाद मार्फत वर्तमान समाजमा छोराछोरी विदेशमा अर्थात् सहरमा पढ्ने बहानामा समाज उजाड बन्दै गइरहेको ग्रामीण जीवन वृद्ध र महिलाहरूको आश्रय स्थल बन्दै गइरहेको वर्तमान यथार्थता प्रस्तुत गरिएको छ । मन लरबराएको बेला शीर्षकको कथामा द्वन्दकालीन कर्मचारीको मनस्थिति र त्रासको अवस्था देखाउँदै द्वन्दमा सृजित बाछिटाले जनजीवन र समाजमा पारेको प्रभावले उत्पन्न मनोविज्ञान प्रस्तुत गरिएको छ। सकारात्मकता र मनोवाद प्रस्तुत गर्दै द्वन्दले समाज, परिवारमा र व्यक्तिमा थोपरेको त्रासको अवस्था प्रस्तुत गर्दै ‘के त्यो विवत्स त्रासकाे आवश्यकता थियो त’ ? भन्ने प्रश्न उब्जाएको छ । गोरे दाई गए खोला पनि सुक्यो शीर्षकको कथामा हाम्रा पौराणिक जीवनयापनका पुर्ख्यौली उद्योग औजारहरूको बारेमा बताउँदै घट्ट सञ्चालकको मनोदशा प्रस्तुत गरिएको छ। ‘परिश्रमेण फलम मधुरम भवती’ उखान चरितार्थ गरेको गोरे दाई, परिश्रमी ,डोको, जातो नाम्लो, दाम्लो गरी रोशी खोला किनारमा जीवनयापन गरिरहेको इमान्दार कृषकको कारुणिक जीवन कथा देखाइएको छ । त्यहाँ प्रकृति पूजा, फापरको रोटी, भटमास लगायतका खाद्य वस्तु प्रतिको मोह प्रस्तुत गरिएको छ। गोरे दाई लाई काम प्यारो छ, उनलाई ठुली आमाको भन्दा घट्टको मोह धेरै छ। समय सँगसँगै जीर्ण बनेको गोरे दाईको घट्ट र गोरे दाईले खडा गरेको अजङ्गको स्मृति हेर्न म पात्र आमासँग गएको छ। संस्मरणात्मक रूपमा प्रस्तुत गरेको कथामा संरक्षणको अभावमा मानवता सुकेर बगरमा परिणत भएको कारुणिक कथा उतारिएको छ।
सुकरामको रेडियो प्रेम कथाले भेरीको परिवेश उतारेको छ। उक्त कथामा म पात्र अफिसर भएर गएपछि अनुभूति गरेका कर्मचारीहरूका क्रियाकलाप र भर्जिन कर्णालीको मनोरम दृश्य र खेतीपातीमा रमाएको सुकरामको व्यवहार मानवोचित छ । गाउँमा अझै मानवता जिउँदै छ भन्ने देखाउन भर्जिन शब्द लाई अलङ्कारकाे रुपमा स्थापित गरिएको छ। गीत गुञ्जनमा पनि नसम्झिएको कर्णाली भेरीलाई कथामा प्रस्तुत गर्नु कथाकारको उद्देश्य देखिन्छ।
बिन्दास सरिता कथामा बाबुआमाको लाडप्यारमा हुर्केकी सरिता स्कुल कलेजमा पढ्ने बेलामा पुरुषप्रतिको आकर्षणका कारण दमित चाहनाले सिर्जना गरेको हेराइ र नारी मनोविज्ञान प्रस्तुत गरिएको छ । यस कथामा कथाकारले फ्राइडको यौन मनोविज्ञानलाई स्थान दिएका छन्। सरिताको जीवन अवचेतन मनको भुमरीमा फसेको कारुणिकता प्रस्तुत भएको छ। यस कथा मार्फत रहस्यमय नारी मनोविज्ञान र समाज मनोविज्ञान प्रस्तुत गर्दै प्रेममा आसक्ति हानिकारक हुने कुरा देखाइएको छ। जन्मदिन कथामा कथाकारले आमाको सपना , रोशी खोला र आफूहरूले मनाउँदै आइरहेको जन्मदिन र वर्तमान आयातित जन्मदिन मनाउने, केक काट्ने प्रवृत्ति र प्रथाप्रति व्यङ्ग्य गरेका छन्। संगतले भत्काएको सपना शीर्षकको कथामा खोटाङबाट काठमाडौँ छिरेका युवा हरि र जीवनाथ को पेरिफेरीमा कथाले आकार लिएको छ । त्रिचन्द्र कलेजमा पढेकाे हरिले बिए पास गरेको छ । हरि शिव र बद्री मालपोतका कर्मचारी हुन। कर्मचारीतन्त्रमा देखिएको अमानवीयता धोकाधडी आदिलाई यस कथामा देखाइएको छ। निर्दोष हुँदाहुँदै पनि दोषी हुनुपर्ने व्यवस्थाकाे चित्रण छ । यस कथाको मुख्य पात्रले सर्वोच्च अदालतबाट मुद्दा जितिसकेपछि पनि कर्मचारी तन्त्रमा देखिएको विकृति र विसंगतिका कारण जागिरमा फर्कन मान्दैन । उसले बरु चिया पसल खोलेर चिया पसलको नाम सुशासन राखेको छ । कथामा कर्मचारीतन्त्रको यथार्थता प्रस्तुतगर्नु कथाकारको उद्देश्य देखिन्छ।
उसको पनि दशैं होला पुस्तकको अन्तिम कथा हो । यस कथामा गरिबहरूका सपना तुहिन्छन् । मास नपुगि जन्मिएका सपना भ्रूणमै मर्छन् भन्ने यथार्थता देखाइएको छ। यहाँ दुध बेचेर घरकाे गर्जो टार्ने किसानहरुको भैंसी मम बनेको पीडा प्रस्तुत गरिएको छ । यस्तै आफ्नो घरमा परिवारको पेट भर्न मजदुरी गर्ने मजदुर दुनियाका घर सिंगार्ने रङ्ग लगाउँदा लगाउँदै आफ्नो घरकाे रङ्ग खरानीमा परिणत भएको र सुन्दर जीवन निर्जीव भएको कारुणिक यथार्थपरक कथा हो ।
यसरी समाजका विविध परिवेश र घटनाक्रमहरुलाई कथाको सामल बनाएका कथाकार मैनालीका कथाहरुमा यथार्थता,मनोविज्ञान आञ्चलिकता, समाज सुधारकाे चेत, हुँदाहुँदै पनि पात्रहरू मार्फत आत्मानुभूति प्रस्तुत गर्दा निबन्धको आभास हुन्छ। आत्मपरकनिबन्ध र समालोचनामा विशिष्टता हासिल गरेका मैनालीको निबन्ध र समालोचनामा जस्तै पाश्चात्य शैली, पूर्वीय शिल्पकाे प्रभाव कथाकारितामा पनि झल्किएको छ । जुन उनको आफ्नो मौलिक शैली बनेको छ। नेपाली साहित्यको भण्डारमा नौलो शैली र शिल्पको संयोजनद्वारा सिर्जित विशृङ्खलित सपना पठनीय, संग्रहणीय साहित्य कृति हो। जसले समाजको चित्र अर्थात् जीवनको यथार्थ चित्र उतारेकाेले पाठकको मन छुने विश्वास गरेको छु।