अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१२ | Colorodo: 19:27

प्रधानमन्त्री ओलीको चीन भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने

बिआरटीनेपाल २०८१ मंसिर ६ गते ५:३० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूबीच दुई पक्षीय भेटघाट भएको छ। चीनको राजधानी बेइजिङमा बुधबार साँझ भएको भेटघाटमा नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबाट छिमेकी दुई देशबीच रहिआएको आपसी सम्बन्ध र सहकार्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको भ्रमण दलमा सहभागी एमाले प्रचार विभाग सदस्य दीपक ज्ञवालीले जानकारी दिनुभयो।

सो अवसरमा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र घनिष्ट बनाउने विश्वास व्यक्त गरे। उहाँले नेपाल र चीनबीच भएका पुराना सम्झौता कार्यान्वयनका क्रममा ठोस योजना तयार गरी अघि बढ्न र दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप उचाइमा पुर्याउन प्रधानमन्त्री आलीको आसन्न चीन भ्रमण कोसेढुङ्गा सावित हुने धारणा व्यक्त गर्नुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ जियन चाओले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणबाट चिनियाँ र नेपाली जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई स्वागत गर्न चिनियाँ पक्ष आँतुर रेहेको बताउनुभयो। उहाँले नेपाल र चीनबीच सदियौँदेखि रहिआएको ऐतिहासिक सम्बन्धलाई विकास र समृद्धिको दिशामा अधिकतम सदुपयोग गर्नुपर्नेतर्फ दुवै देशको ध्यान जानुपर्नेमा जोड दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सन हाईयानले असल छिमेकी देश नेपालको विकास र समृद्धिका पक्षमा सक्दो सहयोग गर्न चिनियाँ पक्ष तयार रहेको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत विदेश विभागको निमन्त्रणामा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधि मण्डल अहिले चीन भ्रमणमा रहेको सदस्य ज्ञवालीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू