मंगलबार पक्राउ परेका दुर्गा प्रसाईंलाई सरकारले सम्भव भएसम्मको अभियोग लगाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेका प्रसाईंलाई प्रहरीले बढीभन्दा बढी कसुरमा अनुसन्धान अघि बढाउने भएको हो। प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै प्रसाईंले सामाजिक सञ्जालमार्फत् ‘फर्जी’ कागजात बनाएर सार्वजनिक गरेपछि उनलाई विद्युतीय कारोबार ऐन अन्तरगतको कसुरको अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको हो।
बुधबार काठमाडौँ अदालतबाट प्रसाईंलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको छ। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्ने अनुमति लिएको प्रहरीलाई अरु गम्भीर किसिमका मुद्दासमेत लगाउने गरी अनुसन्धान गर्न राजनीतिक नेतृत्वबाट दबाब आएको एक उच्च प्रहरी अधिकारीले देश सञ्चारलाई जानकारी दिए।पक्राउ लगत्तै सिआइबीका प्रमुख एआइजी दीपक थापाले प्रसाईंमाथि अनुसन्धानका क्रममा थप कसुर आकर्षित भए त्यसमा ती विषयमा पनि जाँचबुझ गरिने बताउनुभएको थियो। उहाँले भन्नुभएको थियो, ‘अहिले विद्युतीय कारोबारअनुसार अनुसन्धान हुन्छ। अनुसन्धान गर्दै जाँदा अरु जे–जे कसुर भेटिन्छ त्यसमा पनि मुद्दा चलाउन सकिन्छ।’
सरकारमा रहेको दलबाट आएको दबाब र सिआइबी प्रमुखको भनाइले प्रसाईं सहज रुपमा कानुनी झमेलाबाट उम्कन नपाउने गरी प्रहरीले अनुसन्धान अघि बढाउने निश्चित भएको छ। स्रोतका अनुसार सिआइबीले प्रसाईंको सबै बैंक खाता र चलअचल सम्पत्ति रोक्का राख्नका लागि सम्बन्धित निकायहरुमा पत्राचार गर्नेछ। प्रसाईंले सञ्चालन गरेका विभिन्न कम्पनीहरुसमेत अनुसन्धानको दायरामा विस्तार हुन सक्ने प्रहरी अधिकारीको भनाइ छ। उनीविरुद्ध संगठित अपराध, कर छली, सम्पत्ति शुद्धिकरण, अकुत सम्पत्ति आर्जन जस्ता गम्भीर प्रकृतिका फौजदारी अभियोग लगाइने तयारी रहेको स्रोतले बताएको छ।