नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निर्देशन भएअनुसार अन्तर्राष्ट्रिय गन्तव्यको भाडादरमा छुट उपलब्ध गराएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो ।त्यसअनुसार दिल्ली, मुम्बई र बैङ्गलोर गन्तव्यको भाडादरमा दुई हजार पाँच सयसम्म तथा दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि पाँच हजार रुपैयाँसम्म छुट उपलब्ध गराउने निगमले आज निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मत र विस्तारका लागि दैनिक १० घण्टा बन्द हुँदै आएको छ । विभिन्न वायु सेवाको हवाई उडान कटौती भएका छन् । यही मौका छोपेर हवाई भाडा अत्यधिक बढेको गुनासो छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन यसअघि निर्देशनसमेत दिइसक्नुभएको छ ।