अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 05:37

समष्टिगत विषयवस्तुको चित्रण ‘चियर्स’ कथासङ्ग्रह

युवराज मैनाली २०८१ मंसिर ४ गते ११:५५ मा प्रकाशित

मानव सभ्यतासँगै कथाको सुरुवात भएको मानिन्छ र यो मानव सृष्टिसँगै गाँसिएको छ । कथा भन्ने र सुन्ने परम्परा मानव जीवनको अभिन्न अङ्ग हो । लिपिको आविष्कार हुनुभन्दा अगिदेखि नै कथा भन्ने र सुन्ने परम्परा पाइन्छ । यो परम्परा सनातन प्रवृत्ति भएकाले मानवीय वृत्ति जत्तिकै पुरानो पनि छ । प्रचलित श्रव्य परम्परासँगै क्रमिक रूपमा कथाले लेख्य रूप धारणा गरेको हो । अलिखित कथा अवधारणाको रूप एव लोक साहित्यको विशिष्ट अवधारणाको रूप कथा रहेको पाइन्छ । लिखित कथा साहित्यलाई ऋग्वेद युगमा नै यसको पृष्ठभूमि रहेको पाइन्छ । ऋग्वेदका यमयमी, पुरुरवाउर्वशीको संवाद, गालव र माधवीका कथात्मक प्रसङ्गहरू नै आख्यान जगत्का प्राचीनतम उदाहरण र स्रोतहरू हुन् । पूर्वीय परम्परामा वेद, उपनिषद्, बौद्ध, जातक कथाका विभिन्न प्रसङ्गहरू, देव, असुर, जनक, यज्ञवल्क्य आदिका संवाद आदिमा पनि कथाका प्राचीनतम रूप पाउन सकिन्छ । त्यस्तै रामायण, महाभारत, पुराणबाट प्रभाव र प्रेरणा ग्रहण गर्दै ती ग्रन्थहरूका आध्यात्मिक सत्यलाई आख्यानीकरण गरी बौद्ध, जातक कथा, नीति कथा, पञ्चतन्त्रका कथा, हितोपदेश, बृत्कथा, कथासरित्सागर आदि संस्कृत र नेपाली भाषाका आख्यान ग्रन्थहरू जन्मिएका हुन् ।

त्यसो त प्रारम्भिक अवस्थामा भाव अभिव्यक्ति गर्न मनोरञ्जनको साधना मात्र थियो भने वर्तमान सन्दर्भमा थोरै समयमा कथाको आस्वादनद्वारा जीवन र जगत्को कुनै एक पक्षीय अनुभूति ग्रहण गर्न सकिन्छ । आज कथा साहित्यले विभिन्न चरणहरू पार गर्दै आधुनिक कथा विधामा विविध उपलब्धिहरू हासिल गरेको छ । गद्य भाषामा लेखिएका, छोटा आकारका अर्थपूर्ण आख्यान जसलाई एक बसाइमा पढिसकिन्छ त्यस्ता आख्यानात्मक साहित्यलाई कथा भनिन्छ । जसमा कुनै परिणामसम्म पु¥याउने घटनाहरूको शृङ्खला सिलसिलेवार तवरले उल्लेख हुन्छ । कथामा विषय, तत्व, प्रवृत्ति, दृष्टि विन्दु, प्रभाव विभेद ल्याउने सन्दर्भमा प्रयोग हुन्छन् । कथाले जीवन र जगत्को यथार्थ चित्रण गर्दछ ।

कथाको परिभाषा यस्तो नै हो भनी निश्चित गर्न सकिन्न । त्यसो त समयको परिवर्तन र अभिरुचिअनुसार कथाको स्वरूपमा पनि परिवर्तन भइरहन्छ । कथाको स्वरूप गतिशील हुन्छ त्यसैले युग–युगलाई कथाले प्रतिबिम्बित गरेको हुन्छ । पूर्वीय र पाश्चात्य विद्वान्हरूबाट कथालाई आ–आफ्नै तरिकाबाट परिभाषित भएका छन् । आधुनिक कथालाई परिभाषित गर्ने क्रममा विद्वान् एचजी वेल्सले ‘बिस मिनेटमा पढी सकिने सानो काल्पनिक आख्यानको खण्ड विशेष नै कथा हो’ भनेका छन् भने अर्का विद्वान् डेभिड बी. गुराल्निकका अनुसार ‘कथा भनेको वास्तविक या काल्पनिक घटनाको वा घटनासकसँग सम्बद्ध शृङ्खलाको वर्णन हो ।” त्यस्तै डब्लू.एच. हड्सनले कथालाई परिभाषित गर्ने क्रममा कुनै पनि नाटकीय घटना वा स्थिति, मार्मिक दृश्य, अन्यतम सम्बद्ध घटनाको शृङ्खला, चरित्रको कुनै एक रूप कुनै एउटा अनुभूति, जीवनको कुनै एक पक्ष, कुनै नैतिक समस्याजस्ता असङ्ख्य विषय कुनै पनि सन्तोषप्रद कथाका लागि बीजको रूपमा प्रयुक्त हुन सक्छन्’ भनी सुझाएका छन् । एड्गर एलेन पोले ‘छोटो कथा एक बसाइमा पढ्न सकिने सानो तर स्वयं पूर्ण गद्य इतिवृत्त हो । यो विशिष्ट प्रभावोत्पादक्ताका लागि लेखिन्छ तर अन्य सारा उपकरणहरू यसैको विकासका लागि प्रयोग गरिएका हुन्छन्’ भनी कथालाई परिभाषित गरेको पाइन्छ । त्यस्तै, हिन्दी साहित्यका महान् हस्ती प्रेम चन्दले ‘कथा एक यस्तो गद्य रचना हो, जसमा जीवनको कुनै एक अङ्ग या कुनै एक मनोभावको प्रदर्शन गर्ने उद्देश्य कथाकारले लिएको हुन्छ ।

उपन्यासमा झैँ कथामा मानव जीवनको सम्पूर्ण तथा बृहत् रूप देखाउने प्रयास गरिँदैन । यो एक रमणीय उद्यान होइन, जहाँ रङ्गी–विरङ्गी घटनाका पुष्पहरू सजिएका हुन् । अपितु यो एक यस्तो गमला हो जसमा एउटै पुष्पलताको शोभा समुन्नत अवस्थामा दृष्टिगोचर हुन्छ’ भन्ने तर्क दिएका छन् । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘कथा एउटा सानो आँखीझ्याल हो जहाँबाट एउटा सानो संसार चिहाइन्छ’ भनेका छन् । त्यस्तै डा. हिमांशु थापाले ‘कथा भनेको गद्यको त्यो विधा हो जसमा जीवन र जगत्को कुनै एक पक्ष चित्रण हुन्छ, एउटा तथ्यको उद्घाटन हुन्छ र एउटा सत्यको विश्लेषण हुन्छ’ भन्ने तर्क अगि सारेका छन् भने रूप नारायण सिंहले ‘एउटा व्यक्तिका जीवनमा एउटा विशेष घटना अथवा अनुभूति चित्रण गरी यथार्थ रूपमा देखाउनु नै गल्प (कथा) को मुख्य ध्येय रहन्छ’ भनी परिभाषित गरेको पाइन्छ । त्यस्तै नेपाली साहित्यका प्रसिद्ध समालोचक डा. ईश्वर बरालका अनुसार ‘जीवनको एकास्थलीय किम्बा एकांशीय परिचय दिने वस्तु नै कथा हो ।” सारमा सामान्य आयाम अँगाली जीवन र जगत्का एकांशलाई मन छुने किसिमले आकर्षक बनाउँदै लेखिने आख्यान विधा नै कथा हो ।

शेरमान थापा र गोविन्दलाल श्रेष्ठलाई आधुनिक कालका अभियन्ताका खोजी गरिए पनि वि.सं. १९९१ मा काठमाडौँबाट प्रकाशित ‘शारदा’ पत्रिकादेखि नेपाली कथा साहित्यको आधुनिक काल सुरु भएपछि शारदाको प्रकाशन कालदेखि नै नेपाली साहित्यका विशिष्ट कथाकारहरू जस्तै गुरुप्रसाद मैनाली, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, पुष्करशमशेरहरूले आ–आफ्नो प्रवृत्ति अँगालेर कथा साहित्यमा जग बसाली त्यसमा धरोहर बनाउने भगीरथ प्रयत्नबाट नेपाली कथाको आधुनिक युग सुरु भएको हो । यस अर्थमा पनि आधुनिक नेपाली कथाको सुरुआती विशिष्ट योगदान गुरुप्रसाद मैनालीले नै गरेका थिए भन्न सकिन्छ । आधुनिक नेपाली कथालाई विभिन्न धाराबाट विकसित गर्ने क्रममा समाजिक यथार्थवादी धारामा रही पहिलो नेपाली आधुनिक कथाकारका रूपमा विक्रमको १९ औँ शताब्दीको ९० को दशकमा कथाकृतिकारका रूपमा गुरुप्रसाद मैनालीबाट सूत्रपात भएको हो । मैनालीको बहुचर्चित कथा ‘नासो’ (१९९२) यही धारामा आधारित कथा हो । मैनालीबाहेक पुष्करशमशेर, शिवकुमार राई, देवकुमारी थापा, दौलतविक्रम विष्ट, वदरीनाथ भट्टराई, अच्छा राई रसिक, भीमनिधि तिवारी, चक्रपाणि चालिसे, रूपनारायण सिंह, श्यामदास वैष्णव, हृदयचन्द्र सिंह प्रधान, परशु प्रधान, अगमसिंह गिरी, कुमार ज्ञवाली, माया ठकुरी, श्रीधर खनाललगायतका कथाकारहरूले यही धारालाई आधार बनाई कथा लेख्ने गरेको पाइन्छ भने मनोवैज्ञानिक यथार्थवादी धाराका महŒवपूर्ण कथाकारका रूपमा विश्वेश्वरप्रसाद कोइरालालाई मानिन्छ । कोइरालाको चन्द्रवदन (१९९२) कथाको प्रकाशनसँगै नेपाली कथामा मनोवैज्ञानिक धाराको प्रारम्भ भएको मानिन्छ । उनका ‘दोषी चस्मा’ (२००६), ‘श्वेतभैरवी’ (२०३९), ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा’ (२०५२) गरी तीन कथासङ्ग्रह प्रकाशित छन् । यस्तै भवानी भिक्षुले पनि मनोवैज्ञानिक यथार्थवादी धारामा ‘गुनकेशरी’ (२०१०), ‘मैयाँ साहेब’ (२०१७), ‘आवर्त’ (२०२४) र ‘अवान्तर’ (२०३४) गरी चारवटा कथासङ्ग्रह प्रकाशित गराएका छन् । त्यसपछि गोविन्दबहादुर मल्ल ‘गोठाले’ को कथासङ्ग्रह (२००३), कथैकथा (२०१३), प्रेम र मृत्यु, अपर्णा (२०५३) समेत प्रकाशित छन् । यही धारालाई समृद्ध बनाउनका लागि कथाकार विजय मल्लले एक बाटो अनेक मोड (२००३) र परेवा र कैदी (२०१३) मा साथ दिएका छन् । त्यस्तै तारिणीप्रसाद कोइराला, देवकुमारी थापा, पोषण पाण्डे, प्रेमा शाह, पुष्कर लोहनी, कमल दीक्षित आदिले पनि मनोवैज्ञानिक यथार्थवादी धाराकै बाटो तय गरेका हुन् ।

प्रगतिवादी धारा वा आलोचनात्मक यथार्थवादी धारामा रही कथाकर्म गर्ने सशक्त कथाकारका रूपमा रमेश विकल देखा परेका हुन् । उनको गरिब (२००६) कथाबाट प्रगतिवादी धाराको प्रारम्भ भएको मानिन्छ । विकलका बिरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९), तेह्र रमाइला कथा (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा (२०२५), उर्मिला भाउजू (२०४३), शव सालिक र सहस्र बुद्ध (२०४३) जस्ता कथासङ्ग्रहहरू प्रकाशित छन् । उनकै यसै धाराका अन्य कथाकारहरूमा डीपी अधिकारी, बालकृष्ण पोखरेल, पारिजात, माधव भँडारी, ऋषिराज बराल, भवानी घिमिरे, खगेन्द्र सङ्ग्रौला, श्यामप्रसाद अधिकारी, हरि खनाल, तारानाथ शर्मा, कृष्णप्रसाद शर्मा, चूडामणि रेग्मी, वल्लभमणि दाहाल आदि समेटिएका छन् ।

त्यस्तै प्रयोगवादी धारा कथा लेखनको प्रारम्भ कथाकार इन्द्रबहादुर राईले गरेका हुन् । उनको रातभरि हुरी चल्यो (२०१६) शीर्षक कथा पहिलो कथा हो भने खीर (२०१९) यस धाराको पहिलो कथा हो । उनका बिपना कतिपय (२०१७), कथास्था (२०१७), कठपुतलीको मन (२०४६) गरी तीन कथासङ्ग्रह प्रकाशित छन् । प्रयोगवादी धाराका अन्य कथाकारहरूमा शङ्कर लामिछाने, मोहनराज शर्मा, पारिजात, मनु ब्राजाकी, ध्रुवचन्द्र गौतम, गोपाल पराजुली, प्रेमा शाह, भागीरथी श्रेष्ठ आदिको नाम अग्रपङ्क्तिमा रहेको छ । त्यसै गरी समसामयिक धारा २०३६ को राजनीतिक परिवर्तन र त्यसको पेरीफेरीदेखि उदय भएको हो । विशेषतः सामाजिक जीवनमूल्यको स्थापना, जीवनको यथार्थ र सत्यको प्रस्तुति, समाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य जस्ता कुराहरू कथागत प्रवृत्तिका रूपमा रहेका छन् ।

समसामयिक धाराका कथाकारहरूमा कविताराम, गणेश रसिक, पद्मावती सिंह, पूर्णविराम, खगेन्द्र सङ्ग्रौला, लव गाउँले, जीवन आचार्य, मञ्जु काँचुली, ऋषिराज बराल, नारायण ढकाल, मोहनराज शर्मा, कोमलप्रसाद पोखरेल, कृष्ण धरावासी, सनत रेग्मी, सीता पाण्डे, हरिहर खनाल, हरि खनाल, घनश्याम ढकाल, विजय चालिसे, तेजप्रकाश श्रेष्ठ, पुण्यप्रसाद खरेल, भागीरथी श्रेष्ठ, महेशविक्रम शाह, राजव, अमर शाह, कपिल लामिछाने, तारा गाउँले, सञ्जय थापा, सीता पाण्डे, प्रेम छोटा, मधुवन पौडेल, अविनाश श्रेष्ठलगायत अन्य कथाकारहरू पनि रहेका पाइन्छन् भने त्यसै धारमा कथा लेखन गर्ने कथाकारमा दिलीप शाहले पनि आफूलाई उभ्याएका छन् । २०६४ सालमा ‘मौन धारण’ कथासङ्ग्रह प्रकाशित गराएपछि उनी कृतिकारका रूपमा नेपाली कथा साहित्यमा भित्रिएका हुन् । ‘जालो’ लघुकथा सङ्ग्रह (२०६६), श्रद्धासुमन (२०६८), मुर्दार काठमान्डु (२०६९), बघिनी (२०७०) र चियर्स (२०७५) गरी अहिलेसम्ममा आधा दर्जन कथाकृतिहरू प्रकाशित भइसकेका छन् । ‘चियर्स’ कथासङ्ग्रह उनको पछिल्लो कथाकृति हो जसमा बीसओटा समसामायिक धाराका कथाहरू समाविष्ट छन् ।

‘चियर्स’ कथासङ्ग्रहको पहिलो कथा झड्का शीर्षकको रहेको छ । गोरखाको बारपाकमा केन्द्रविन्दु भई २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पको झड्काका रूपमा चित्रण गरिएको छ । भूकम्प र त्यसका अनेकौँ पराकम्पबाट सुरक्षित स्थानको खोजीमा बसेका मानिसहरूको बिम्ब उतारिएको छ । नेपालीहरूको गफाडी प्रवृत्तिको चित्रण गरिएको छ र अस्थायी क्याम्पमा बसेकाहरूको भोगाइलाई पनि समावेश गरिएको छ । महाभूकम्प र त्यसले उत्पन्न गराएको त्रासपूर्ण वातावरण र त्रसित मानसिकताका भोगाईलाई मूल विषयवस्तु बनाई लेखिएको कथामा आत्मकेन्द्रित पात्र र उसका छरछिमेकी तथा नातापाताको अवस्थाका विषयमा चासो राखिएको छ भने मानिसलाई आफू बाँचेपछि धनसम्पत्तिको लोभले र नगद तथा जिन्सी सामान चोरी हुन सक्ने कुराले मनमा डर उत्पन्न गराएको प्रसङ्ग उल्लेख छ । त्यति ठूलो महाभूकम्पको झड्कालाई पनि मानिसहरूले कति छिटै बिर्सन सक्छन् भन्ने भावसमेत कथाकारले यस कथामार्फत कुशलतासाथ प्रस्तुत गरेका छन् । महाभूकम्पपछि तुरुन्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राहतका कार्यक्रमसहितको सम्बोधन गर्नु र नेपाल सरकारबाट राहत कार्यक्रमको घोषणामा ढिलाई हुनुलाई मृत्युपछिको डाक्टरको के काम ? भन्ने शैलीमा प्रस्तुत गरिएको छ भने विपद्का बेला भएको सहाराहीन मृत्युलाई दैवीय विपत्तिका रूपमा लिँदै त्यस्ता मृत्युबाट स्तब्ध भए पनि सहयोग गर्न नसकिने तीतो यथार्थलाई गहन रूपमा प्रस्तुत गर्न सक्नु कथाकारको विशेषता रहेको छ । कथामा कतिपय अप्रासङ्गिक कुराहरूलाई पनि प्राथमिकता दिइएको छ । भूकम्प र त्यसको झड्काको सिलसिलेवार प्रसङ्ग उठ्दै जाँदा विषयवस्तुबाट टाढा रहेको ‘चियासिया अफर गर्थिन् होला । चिनीको बट्टाभित्र मुसा र साङ्लोले स्थायी खोर बनाएको हुन सक्छ ।’ भन्नेजस्ता प्रसङ्गविहीन वाक्यहरू उल्लेख छन् । त्यस्तै आफू र आफूसरहका जनतालाई ‘अदना, तोरीगेडे जनता’ जस्ता हेय भावका शब्दले सम्बोधन गर्नु त्यति उपयुक्त मान्न सकिन्न ।

सङ्ग्रहको दोस्रो करवीरे नै बेस भन्ने कथाको मूल विषयवस्तु, परिवेश र उपशीर्षकहरू समेतको पृष्ठभूमि बुँदात्मक रूपमा निबन्धात्मक शैलीमा उल्लेख गरिएको छ । उमेर पुगेकी छोरीलाई विवाह गर्नका लागि बाबुआमा र आफन्तको छट्पटी तथा खानदानी पारिवारिक रवाफशैलीलाई विषयवस्तु बनाएको कथामा ठूलो खानदानी परिवारसँग नाता गाँस्न खोज्दा कुलतमा फँसेको वर पनि मिल्न सक्छ भन्ने कुराको यथार्थ चित्रण छ । त्यस्तो कुलतको दुव्र्यसनी बन्दै गएको वरभन्दा छिमेकी गरिब तर मनको धनी करवीरे नै उपयुक्त छ भन्ने यथार्थ सामाजिक सन्देश प्रवाह गर्न खोजिएको छ । कथामा आफ्नै फुपू लमी बन्नु, लमीले आकाश नै स्पर्श हुने गरी वरको प्रशंसा गरेको घटनाले प्राथमिकता पाएको छ । खानदानी तथा धनी परिवारमा जन्मेको केटा लागू पदार्थको दुव्र्यसनमा फँसेको र त्यही दुव्र्यसनी केटालाई धनदौलतको लोभमा परी लमीले आफ्नै आफन्तकी सुशील र योग्य छोरीको हात मागिदिनु तथा केटीको परिवार गरिब भए पनि खानदानी रवाफ धान्नैपर्ने बाध्यतालाई उजागर गरिएको छ । कथामा बाबुका रूपमा देखिएका दीपक सिंहले बोलेको, “दुई छाक खान नपाए फरक पर्दैन । तर इज्जत भन्ने चिजमा बट्टा लाग्नु हुँदैन र यस विषयमा ज्यान जाला सम्झौता हुँदैन, गरिँदैन ।” भन्ने मनोसंवादबाट उनलाई आदर्श पिताको रूपमा प्रस्तुत गर्न खोजिए पनि आफन्त र श्रीमतीको करकापबाट आफ्नी छोरीको विवाह अयोग्य केटासँग गर्नका लागि लाचार हुँदै सहमति जनाएका कुरा उल्लेख भएका छन् । कथामा मुख्य पात्रका रूपमा तडकभडक विनाकी परिवारकी जेठी छोरी प्रकृता र सहायक पात्रका रूपमा प्रकृताका बुबाआमा दीपक सिंह र रमला एवं अन्य पात्रमा बहिनी प्रणिता, लमी फुपू, ज्योतिष, दुलाहलगायत छन् । कथामा पात्रका प्रवृत्तिलाई विशेष प्राथमिकता दिइएको छ । दीपक सिंहकी श्रीमती रमितालाई कट्टर धार्मिक सनातनी पात्रका रूपमा र हुलाकको सानो जागिरे दीपक सिंहलाई पुख्र्यौली रफाव देखाउने रवाफी पात्रका रूपमा चित्रित गरिएको छ । ज्योतिषीले बढाइचढाइ प्रस्तुत गर्ने लाउके प्रवृत्ति, एउटी सुकुमारी योग्यतावान् कन्या भएर पनि खानदानी रवाफले पारिवारिक इज्जत धान्नुपर्ने बाध्यतामा तथा आमाबाबुको खुसीमा आफ्नो इच्छा मार्नुपर्ने तथा समर्पित हुनुपर्नेलगायतका प्रसङ्ग उल्लेख छन् । ‘स्वयंवरको उत्कर्ष’ उपशीर्षकले कथालाई कुन प्रसङ्गमा उल्लेख गरेको हो भन्ने स्पष्ट छैन ।

एक विदुरको डायरी सङ्ग्रहको तेस्रो कथा हो । श्रीमती बितिसकेपछिको एक्लो भोगाई व्यतित गरिरहेको एक विदुरको मनोविज्ञानलाई उतारिएको कथा एकालाप प्रदान छ । खासमा यो एक वियोगात्मक स्मृति हो । एउटा स्कूले मास्टरका रूपमा कार्यरत पात्र नै विदुर हो र उसकी विद्यार्थी वा बितेकी श्रीमती नै अनु हो र उसैको स्मृतिमा तयार गरिएको डायरी नै एक विदुरको डायरी हो । कथालाई आफ्नो डायरीमा लेखिएको एउटा चिठीको शैलीका रूपमा प्रस्तुत गरिएको छ । मनका बहहरू र अतीतमा श्रीमतीसँगका स्मृतिका रूपमा रोमाञ्चकता, दुःख, पीडा तथा पहिलो भेटदेखि अन्तिमसम्मका यादगार तथा एक विदुर व्यक्तिलाई जीवन जिउन भएको कठिनाई, घर परिवार र समाजबाट एक्लिनुपरेको दुःखको इतिवृत्ति उल्लेख छ । त्यस्तै, श्रीमतीको मृत्युपछि मनमा उत्पन्न हुने बेचैनी, अतृप्त यौन इच्छा, एक्लोपनको छट्पटाहट, अन्य विधवा र स्त्रीलाई हेर्ने नजरका जस्ता विषय पनि कथामा प्राथमिकतासाथ समाविष्ट गरिएको छ । स्मृति र मनका बहहरूलाई पोख्दै सुरु गरिएको कथामा एउटा गणित र विज्ञान विषय पढाउने शिक्षकका रूपमा नायकलाई र कक्षा आठमा पढ्दै गरेकी विद्यार्थी अनु जो स्कूलको पालेकी छोरीलाई नायिकाको रूपमा चित्रण गरिएको छ । सिलसिलेवार रूपमा उत्ताउली अनुको प्रवृत्ति दर्शाउँदै कागजको परेवा बनाई शिक्षकलाई हानेको, शिक्षकले गालामा चड्काइदिएको, पछि उनीहरूको प्रेम बसेको, विवाहका लागि कुरा हुँदा घरपरिवारले अस्वीकार गरेको, विवाहपछि अनुले घरपरिवारलाई समेत रिझाएको र सम्पूर्ण रूपमा अनुप्रति आश्रित बनेको कुरालाई कुशलतापूर्वक प्रस्तुत गराएका छन् । श्रीमतीलाई मलिलो खेतका रूपमा, पीपलको छहारीका रूपमा, नदीको रूपमा र सम्पूर्ण सर्वस्वका रूपमा चित्रित गर्दै एक विदुर सम्झनाले चिमोटिन्छ, “लाग्छ, तिमीले मलाई छाडेकै छैनौँ । तिमीले यस्तो अपराध गर्न सक्दिनाँै । दायाँबायाँ छाम्छु, यस आसमा कि तिमी मसँगै छ्यौ । मलाई सुमसुम्याइरहेकी छ्यौ । भ्रमको जालो धेरै बेर टिक्दैन । मेरो अभागी आँखाले तिमीलाई आगोले क्वाप्लक्कै निलेर खरानी बनाएको कसरी भ्रम हो भन्न सक्छु ?” वियोगबाट माथि उठेर छिमेकीकोमा काम गर्न आएकी केटीप्रतिको गिद्देदृष्टि तथा साथीको मृत्युपछि विधवा जीवन बिताएकी कमला भाउजूकोमा जाँदा–आउँदा समाजले हेर्ने हेय दृष्टिलाई स्थान दिएको कथामा एउटा पुरुषको मृत्युपछिकी विधवा आइमाईले आफ्नो मनको वेदना जताततै पोख्न सक्ने तर एउटा विधुरले आफ्नो मनको वेदनालाई कहीँ कतै पोख्न नसक्नुले विधवाभन्दा विधुरचाहिँ बढी पीडित पात्र हो भन्ने आशय व्यक्त गरेको छ । वास्तवमा एक विधुरको डायरीमा पूरा समाज समाविष्ट छ ।

अ.ल्या. शीर्षकको कथा चौथो कथाका रूपमा सङ्गृहीत छ । हुकुमी शैली र बाबुसाप पाराको पुरातनवादी सोचले ग्रस्त समाज र सामन्तवाद उन्मुख मुख्य पात्र राजासाहेव धन दौलतको शक्तिको आडमा आफूलाई आफैले देशको राजाझैँ सम्झने प्रवृत्ति र उसैले चलाएको सयकडा ब्याजको लगानीमा आधारित सामन्तवादी सोचशैली, लगानीभित्रको कुत्सित यौन मानसिकता र जबरजस्ती अर्काको छोरीबुहारीलाई आफ्नो बनाई अलपत्र छाड्ने र त्यसरी आफ्नो बनाई छाडिएकी केटी पोइला गएमा धम्क्याएर जार रकम असुल गर्ने पूरातनवादी पातकी सोचबाट ग्रसित मनोभावनाबीच स्वास्नीको ब्यापारबाटै प्रशस्त धनदौलत आर्जन गरेको भन्ने चर्चा कथामा पाइन्छ । मुलुकमा भएको राजनीतिक परिवर्तन र जनतामा आएको सामन्तवाद विरोधी भावनाका बीच चाकरी र चाप्लुसी गरी प्रधानपञ्चबाट राजनीतिक जीवनयात्रा सुरु गरेको जिम्मुवालले गाउँका सिधा–साधा जनतालाई विनाकारण मुद्दा लगाउने र दुःख दिने कार्य गरेको, आफ्नो पदीय शक्तिको चरम दुरुपयोग गरी माथिको राजनीतिक नेताहरूलाई रिजाएर मन्त्रीसम्मको पद हासिल गरेको र प्रशस्त धनदौलत जम्मा गरेको वर्णन छ । त्यसबाहेक एक्लो छोरोलाई भारत पढ्न पठाएको, छोरोले उतै विवाह गरेको र नेपालमा नोकरी नगरी आफ्नै उद्योग खोलेको तर उद्योग पूरै डुबेको र उसका आसेपासेले समेत पैसा छउञ्जेल हाईहाई गरेको पैसा सकिँदै गएपछि उसको पछिल्तिर गालीगलौज गर्ने र थुक्ने प्रवृत्ति कथानकका रूपमा उल्लेख छ । विशेषतः ठूलाबडा मै हुँ भनी अहम् गर्नेका सन्तान बिग्रिने प्रवृत्तिको रूपमा अथ्र्याउन खोजेको कथा वर्णनात्मक शैलीको छ । धनदौलत जसरी कमाएको हो त्यो त्यसैगरी जान्छ भन्ने तथ्यलाई आधार मानिएको कथामा हिसाबकिताब मिलान भएको वा अ.ल्या. गरिएको भन्ने आशयका साथ शीर्षक अ.ल्या. राखिनु सान्दर्भिक ठहर्छ तर, कथाको बीचबीचमा प्रयोग गरिएको ‘नेतादेखि तस्करसम्म, कर्ण शाक्यदेखि कालू मनाङ्गेसम्म, राजेश हमालदेखि पूजा चन्दसम्म’ जस्ता प्रत्यक्ष व्यक्तिको निजी संवेदनालाई प्रभावित पार्ने किसिमले वर्णन गर्नुले कथाकार कथाको गाम्भीरताप्रति संवेदनशील छैनन् भन्न सकिन्छ ।

एउटा मध्यमस्तरको सरकारी जागिरेले तराई मधेसमा भूमिगत शैलीका पार्टी, दल र जत्थाले चर्किएको आन्दोलनको सेरोफेरोमा भोग्नुपरेको चन्दाआतङ्कको विषयवस्तुको वर्णन छ, पिउसाहरू शीर्षकको सङ्ग्रहको पाचौँ कथामा । दैनिकजसो कुनै न कुनै समूह तथा राजनीतिक दलको नाममा चन्दा माग्न आउने व्यक्ति र उनीहरूले नेपालको खुल्ला सिमानाको फाइदा उठाउँदै हातहतियार ल्याउने अनि त्यही हातहतियारको आडमा धम्क्याउने, चन्दा असुल्ने प्रवृत्तिले एउटा कर्मचारीमा परेको मानसिक तथा आर्थिक तनावलाई कथानक बनाएको कथाको ‘म’ पात्र जो कर्मचारी पनि हो, उसलाई नायक तथा चन्दा असुल्ने जत्थालाई संयुक्त रूपमा खलनायक बनाइएको छ । विशेषतः एउटा मध्यमस्तरको निजामती कर्मचारीको मनोविज्ञानमा आधारित कथामा चन्दा आतङ्कबाट भोग्नुपरेको मानसिक तनाव र त्यही तनावका बीचमा घरपरिवारसँग पनि सुमधुर सम्बन्ध स्थापित हुन नसक्दा तनाव कम गर्नका लागि रक्सीको सहारा लिनुपरेको तथा मानसिक रूपमा झन्झन् पिरोलिँदै गएको र मनमा आक्रोश, रोष र बदलाको भावना उत्पन्न भएको अस्थिर मानसिक अवस्थाको चित्रण गरिएको छ । श्रीमतीले नामर्दको संज्ञा दिनु, अभावका बीच गालीगलौज गर्न र मर्द बन्न उक्साउनुले मनभित्रको आक्रोशलाई झन् बढवा दिएको, मर्द बन्ने अभिप्रायले रक्सीको मात चढाएको, रक्सीको मात चढ्दा पनि मनस्थितिमा त्यही चन्दा आतङ्कको परिवेश मात्र घुमिरहेको, मात चढेपछि दिउँसो चन्दा असुल्नेको धुमिल तस्बिर मथिङ्गलमा आउन थालेको र चन्दा असुल्नेहरू उसैको पल्लो टेबुलमा बसी भुँडी फुट्ने गरी रक्सीमासु खाएको र उसलाई देखेपछि असहज हुनुले खाओवादी प्रवृत्तिको भण्डाफोर गरेको छ । तिनै खाओवादी चन्दा आतङ्क फैलाउने जत्था र त्यही प्रवृत्तिलाई प्रतीकात्मक रूपमा पिउसाहरू शीर्षक कायम गरिनुलाई उपयुक्त शीर्षक चयन हो भन्न सकिन्छ ।

ल्याक्टो माने ल्यापटप शीर्षकको कथा छोराछोरी विदेशिएपछि स्वदेशमा रहेका बुढा आमाबाबुले सन्तान सुखको कल्पनामयी भोगाइको कथा हो । रिटायर्ड सरकारी जागिरेको कथा, जनकपुर आसपासको कथानक परिवेश, मर्निंङवाक पार्टनरबीचको गहिरो दोस्ती, बुढ्यौलीका दिनसम्म पनि शारीरिक निरोगीता र सक्रिय जीवनशैली, छोराछोरीलाई अङ्ग्रेजी स्कूलमा पढाउनुपर्छ भन्ने मानसिकता, उच्च शिक्षाका लागि छोराहरूको अमेरिका पढ्न जाने तीव्र इच्छा, सन्तानको इच्छापूर्तिका लागि निवृत्तिभरण र पुख्र्यौली सम्पत्तिको बेचबिखन र पैसाको जोहो, अस्थायी रूपमा विदेशिए पनि अन्ततोगत्व कमाई धमाई गरी नेपालनै फर्कने र आमाबाबुलाई सुखसयलका साथ राखिदिने छोराहरूको झूटो प्रतिज्ञा, विदेशी भूमिमा टेकेपछि बिस्तारै घरपरिवार र आमाबुबालाई पनि बिर्सने मनोवृत्ति, पैतृक सम्पत्ति नसकिउञ्जेलसम्म विभिन्न वहानामा पैसा मगाउने चुसक सन्तानको कुत्सित मानसिकता, छोराहरूको विवाहबन्धन पनि उतै गरी सदाका लागि देश नफर्कने सन्तानको निर्णय, सन्तानको त्यस्तो निर्णयले आमाबाबुमा पर्न गएको एक्लोपनको असहायताको महसुस, अन्ततः सन्तान आफू नै आमाबाबुको देखभालमा उपस्थित हुन नसक्ने तर सन्तानको सामीप्यतामा रहन पठाइएको ल्यापटप र त्यसैमा आफूहरूलाई हेर्न सन्तानले गरेको आग्रहजस्ता प्रवृत्तिगत र परिवेशगत विशेषताहरू कथामा पाइन्छन् । कथाका पात्रहरू झाजी र मिश्राजीलाई दोस्तीका रूपमा, उनीहरूका श्रीमतीलाई अशक्त्त तथा रोगी बुढ्यौलीले बढी प्रभावित बनाएका तथा उनीहरूका विदेशिएका सन्तानलाई निष्ठुरी, कठोर मन भएका सन्तानको रूपमा चरित्रचित्रण गरिएको छ । कथामा आफूभित्रको गुम्सिएको पीडालाई बडो कष्टसाथ मिश्राजीलाई सुनाउनुलाई मनको बह कम गर्ने औषधीको रूपमा प्रयोग गरिएको छ र सन्तानको सामीप्यताभन्दा भौतिक सुखसयल ठूलो हुन सक्दैन भन्ने यथार्थतालाई कुशलतासाथ प्रस्तुत गरिएको छ । शैक्षिक क्षेत्रमा भएको विश्वव्यापीकरणसँगै सुरुमा पढ्ने उदेश्यसाथ आफ्ना सन्तानलाई विदेश पठाउँदा नेपालमा बस्ने बुढ्यौली अवस्थाका समस्त बाबुआमाको भोगाईका प्रतिनिधि कथाका रूपमा ल्याक्टो माने ल्यापटपलाई लिन सकिन्छ ।

प्रहरीले अपराधीलाई आफ्नो अपराध स्वीकार गराउनका लागि गरिएको एउटा प्रयोगको कथा नै सफल प्रयोग हो । यस कथामा कथाकारले ययार्थता कम तथा स्वैरकल्पनामा बढी रमेर एउटा अपराधीलाई अपराध कबुल गराउन भौतिक र मानसिक पीडा नदिई मित्रवत रूपमा अपराध कबुल गराउने आदर्शवान प्रहरी इन्सपेक्टरको काल्पनिक विषयवस्तुलाई चित्रण गरी तयार गरेका छन् । मूल पात्रका रूपमा अपराध महाशाखाका इन्स्पेक्टर दिल घर्तीलाई दिलवान, असल र आदर्शपरक पात्रका रूपमा वर्णन गर्दै उनका दाजुले जूवा खेली जितेको जितौरीमाथि आँखा लगाई चोरी गरेको र दाजुले हरेक इच्छा पूरा गराएर आफ्नो चोरीलाई कबुल गराएकोमा घर्तीले अपराध कबुल गराउने एउटा सफल प्रयोग आफूमा भएको र त्यही प्रयोग पुनः अपराधीहरूमा गरेको विषय, आफ्नो सन्तानको कुलत र दुव्र्यसनीलतलाई छुट्कारा दिलाउनका लागि एउटी आमाले गरेको विविध प्रयास र क्रियाकलापलाई नै प्रमुख कथानकका रूपमा उल्लेख छ । युवा वर्गमा बढ्दो कुलतप्रतिको आकर्षण, आपराधिक क्रियाकलापलाई निस्तेज पार्नका लागि अपराधकर्मको मूलजरो पत्ता लगाई अपराध निर्मूल पार्न सकिने आदर्शपरक तथ्य, अपराध कबुल गराउनका लागि कठोर र दयावान प्रहरीबीचको सोचाइको भिन्नताजस्ता प्रवृत्तिगत विशेषता रहेको कथामा इन्स्पेक्टर दिल घर्ती, जुँगे हबलदार जस्ता प्रत्यक्ष पात्र र दिल घर्तीका दाइ, अपराधी, गँजडी दुव्र्यसनी, दुव्र्यसनीकी आमाजस्ता परोक्ष पात्र उल्लेख छन् ।

सङ्ग्रहको शीर्ष कथाको रूपमा रहेको कथा चियर्स एउटा अन्तर्मुखी स्वभाव भएको पुरुषको नारीप्रतिको नकारात्मक दृष्टि र एउटी जन्मजात रतन्धोरोगी आइमाईको पुरुषप्रतिको घृणित भावानुवृत्ति समेटिएको कथा हो । सहरी वातावरण र त्यसैको वरपर घुमेको कथामा भड्किलो जीवनशैली, काठमाडौँको रवाफिलो समाज, यौनप्यासी पिपासुहरूको उद्वेलित मानसिकता, हराउँदै गएको मानवता, पश्चिमी भड्किलो सभ्यताको नक्कलका रूपमा सस्ंकृतिमाथि आएको विकृतिलाई प्राथमिकता दिइएको छ । सामाजिक यथार्थतालाई उतार्ने क्रममा कथाका माध्यमबाट समाजमा हुने नैतिक पतनका अपराधकर्मले कसरी घर, परिवार र समाजमा जरो गाडेर रहेको छ भन्ने विकृत सामाजिक परिवेश र त्यसको उपजलाई उजागर गरेको छ । एकतर्फी रूपमा प्रेम गर्ने पुरुषले आफूले मन पराएकी महिलालाई प्रेमप्रस्ताव राख्दा उसले त्यो प्रेमप्रस्ताव अस्वीकृत गरेको र धन दौलत भएको तर नैतिक पतन भएको पुरुषसँग बढाएको सामीप्यताले सबै नारीहरूको चरित्र त्यस्तै निकृष्ट खालको हुन्छ भन्ने दूषित मनोभावले गर्दा कोही केटीसँग पनि विवाह नगर्ने भीष्मप्रतिज्ञा गरेको पुरुष र आफ्नै बाबुबाट बारम्बार बलात्कृत भएकी नारीले सम्पूर्ण पुरुषहरू व्याभिचारी, पाखण्ड र पतित चरित्रको हुन्छ र तिनीहरूको बाहिरी आवरणचाहिँ सुशील, समाजसेवी स्फटिकझैँ हुन्छ भन्ने मानसिकता पालेको घटनालाई मूल विषयवस्तुका रूपमा प्रस्तुत गरिएको कथा फरक फरक मानसिकताका दुई लिङ्गीबीचको सम्झौताका दस्तावेजको रूपमा आएको छ । समाजको कालो–सेतो दुबै पाटा प्रस्तुत गर्न खोजिएको कथा विशेषतः सामाजिक प्रधान घटनाको सिल्सलेवार तथ्य हो । मानिसका विभिन्न प्रवृत्तिलाई प्राथमिकता दिइएको कथामा पात्र पात्रकाबीच, सामाजिक परिवेशबीच, सांस्कृतिक चेतनाकाबीच विविधखाले द्वन्द्व रहेको देखिन्छ । सरल भाषाशैलीमा प्रस्तुत भएको कथामा विपरीत ध्रुवको चुम्बकीय मिलन सम्भव छ भन्ने आशयमा चियर्सको चियर्स सफल भएको देखिन्छ ।

राजभोगको विपरितार्थमा लिइएको शब्दका रूपमा चित्रण गरिएको कथा हो खातेभोग । विशेषतः पश्चिम नेपालको विकट भेरी–कर्णालीको क्षेत्रीय परिवेश र त्यस ठाउँमा दलितमाथि हुनेगरेको थिचोमिचो, गरिबी, शोषण, दलन, करुणा, भोकमरी, दलित वर्गका धेरै सन्तान हुने परिवेशका साथै कथित उपल्लो वर्गले दलित सम्प्रदायलाई दलाउने प्रवृत्ति र त्यसैको उपजमा रूपमा एउटा बालकले देखेको राजभोगको सपना सिद्धिको स्वप्नकाङ्क्षाले डो¥याएको परदेशको बाटो, परदेशिन खोज्दा शरीरले दिएको सास्ती, अधुरो गन्तव्यले निम्त्याएको खाते जिन्दगी र राजभोगको सपनाको परिणतिका रूपमा रूपान्तरित भएको खातेभोगको कहालीलाग्दो तीतो यथार्थतालाई उजागर गरिएको कथामा गाउँ र सहरको भिन्नता तथा सहरी परिवेशनमा हुने रोजगारहीन परिदृश्य अनि सहरमा कसरी बालबालिका खाते बन्न सक्छन् भन्ने दृष्टान्त पाइन्छ । गरिबीको चरम अवस्थाबाट गुज्रिएको दलित परिवारले भोगेको भोगाइलाई मिहीन ढङ्गले प्रस्तुत गर्न खोजिएको कथामा दलितलाई रौँ बराबर नगन्ने परिवेश, जिम्मुवालले तोकिदिएको ठाउँमा बस्नुपर्ने अवस्था, सामन्तवादले गाँजेको मानसिक संस्कारले गर्दा जिम्मुवालका छोराछोरीलाई चाहिँ अपच हुञ्जेल खुवाउने तर काम गर्नेका बालबालिकालाई रहलपहल, जुठोपीठो दिने अनि त्यस्तो जुठोपिठो खाई हुर्केकोमा गर्व गर्ने र सधैँ आफ्नै दासका रूपमा रहोस् भन्ने सोचजस्ता प्रवृत्तिगत विशेषता रहेका छन् । कथामा बालमनोविज्ञान र बालस्वप्नलाई समेत विशेष महŒवका साथ स्थान दिइएको छ ।

२०६५ भाद्र २ गते कोशीले आफ्नो धार परिवर्तन गरी बाँध भत्काएको र कोशीपूर्वका नेपाली बस्तीले भोग्नुपरेको पीडाका बाबजुद राहतमा रमेको खुसीलाई व्यङ्ग्यात्मक तबरले प्रस्तुत गरिएको कथा आह्लाद हो । कोशीबाँध र त्यसले प्रभाव पार्ने क्षेत्रमा रहेका अधिकांश गरिब चौधरी बस्तीको परिवेशमा घुमेको कथामा चौधरी बस्तीको जीवनशैली र कोशी प्रभावित क्षेत्रको यथार्थ तस्बिर झल्किएको छ । बाढीको भयाभह प्रकोप, जलमग्न जमीन, विस्थापित घरपरिवार, डुबानजन्य प्राकृतिक विपत्ति, विपत्तिपछि फैलिएको रोगब्याधि, भोकमरी, लुटपाट आदिको सामना गरिरहेको त्यहाँको समाजमा नेपाली नागरिक भएर पनि नागरिक बन्न नसकेको अनागरिकको पीडा पोखिएको छ । कथाको नायकका रूपमा रहेकी गोमती थरुनीले भोगेका दुःखसुखका पाटालाई चित्रण गरिएको कथामा मादक पदार्थ र लागुऔषधको कुलतमा फसेको लोग्ने, धेरै सन्तान, कुपोषणको कहर, सन्तान बिग्रेको परिवेश अनि त्यो परिवेशले मातृत्वलाई दिएको करुण परिस्थिति समेतको वर्णन रहेको छ । प्राकृतिक प्रकोपपछि विभिन्न सङ्घसंस्था र सहयोगदाताहरूले दिएको राहतले सजिलोसँग खाद्यान्नको जोहो भएको, शरीरलाई पूरै ढाक्न सकिएको, रोजगारीको नयाँ नयाँ अवसर प्राप्त भएको, काम पाएपछि घरमुलीको कुलतसमेत छुटेको र परिवारको अवस्थामा क्रमिक रूपले सुधार भएको संयोगान्त परिवेश उजागर गरिएको छ । प्रतिनिधि पात्रको रूपमा रहेका गोमतीहरू प्रत्येक दिन कोशी किनारामा गई जिन्दगीमा पहिलोपटक सुखभोग गर्न पाएको, पेटभरि खान पाएको, पूरा शरीर ढाक्न पाएकोमा प्रकृतिसँग धन्यधन्य हुँदै पूजापाठ गर्ने गरेको दृश्यलाई व्यङ्ग्यात्मक तथा यथार्थपरक शैलीमा प्रस्तुत गरिएको छ ।

नेपाली जनताले लामो सङ्घर्ष गरी ल्याएको लोकतन्त्रको उपलब्धि के हो ? र लोकतन्त्रको वास्तविक फल नेपाली जनताले के प्राप्त ग¥यो ? भन्ने यथार्थलाई चिरफार गर्न खोजिएको सन्देशमूलक कथा लोकतान्त्रिक फल हो । मध्यपश्चिमको बर्दिया जिल्लाको भादा नदी छेउमा बसोवास गर्ने गरिब दलित सुकुमबासीहरूको जीवन सङ्घर्ष र त्यहाँ आउनुभन्दा अगि पहाडमा उनीहरूले भोग्नुपरेको पहिरोको कहर, दैवीय विपत्ति, पीडकलाई देशमा सरकार नहुनुको आभास, सिंहदरबारको दृष्टिदोषलगायतका समस्या तथा पीडा उतारिएको कथा यथार्थमा लोकतन्त्रपछि पनि गरिब जनताको पक्षमा दबिएको आवाज, उठ्न नसकेको शिर तथा प्राप्त गर्न नसकिएको नागरिक हकलाई कुशलतासथ उठान गर्ने प्रयास गरिएको छ । कथामा खोला किनारको बस्तीको यथार्थता झल्काउनका लागि बाढी नआइजाओस्, डुबान नपरिजाओस् भनी गरिएका कारुणिक प्रार्थना, विपन्नता, कुपोषण, अशिक्षा र अन्धकारमय जीवनलाई जनताका वास्तविक पीडाका रूपमा वर्णन गरिएको छ । दूरदराजका गाउँका पीडा बुझ्न कर्मचारी सदरमुकामबाट गाउँ नजाने प्रवृत्ति, चुनावताका जनताका सारा समस्या समाधान गर्न खोजेजस्तो गर्ने तर चुनावपछि फर्केर पनि नहेर्ने अनि जनता कजाउने नेताको लाउके प्रवृत्ति, गरिबीलाई यौनदासका रूपमा सम्झौता गराउन चाहने विकृत सामाजिक चारित्रिक प्रवृत्ति जस्ता प्रवृत्तिगत विशेषताहरू रहेका छन् । पात्र फेरिनु तर प्रवृत्ति नफेरिनु, राणा, राजा, लोकतन्त्र, गणतन्त्र कहीँ कतैबाट अपेक्षाकृत फल नमिल्नु जस्ता यथार्थपरक व्यङ्ग्यचेत भरिएको कथामा नेतृत्वको आंशिक गुण भएको पात्रका रूपमा बिर्खे सार्कीलाई लिइएको छ भने उसलाई लालचा देखाउँदा सारा सुकुमबासी बस्तीको भोट पाइने र लोकतन्त्रको फल चाख्न पाउनेमा राष्ट्रिय नेता आशावादी देखिनु, लोकतन्त्रको गलत व्याख्या र परम्पराको अर्थ गरिब सुकुमबासीका प्रतिनिधिपात्र बिर्खे सार्कीलाई अथ्र्याउनु, गरिबीमा उज्ज्वल भविष्यको उषालाली नदेख्नुजस्ता निराशावादी व्याख्या र भोगाइलाई गलत कार्यका लागि प्रोत्साहित हुने वाध्यात्मक अवस्थाको सूत्रपातका रूपमा प्रस्तुत गरिदिँदा आफ्नो सन्तानलाई आन्दोलनको अग्रपङ्क्तिमा उभ्याउने र सहिद बनाई त्यसको राहतस्वरूप प्राप्त फलले गरिबीका बीच भोक टार्ने साधनका रूपमा प्रयोग गर्नेजस्ता लोकतन्त्र र जनताका बीचमा मिल्न नसकेको तादाम्यतालाई यथार्थपरक ढङ्गबाट उजागर गरिएको छ ।

स्वास्नीमान्छेको शङ्कालु प्रवृत्तिले विश्वासको सुन्दर वृक्ष्य सुकेर कसरी ढल्छ र घरवार बिग्रन सक्छ भनी देखाइएको कथा रमितागन्ध हो । श्रीमान्, श्रीमतीबीचको तादम्यता मिल्न नसक्नु, एउटै बिस्तरामा विपरीत ध्रुवमा शयन गर्नु, रोगी पतिको स्याहार नगर्नु, बारम्बार घुक्र्याउनु, नेगेटिभ एटिच्युड व्यक्त गर्नु, मोबाइल छानपड्ताल गर्नु, छोराछोरीको स्याहारसुसारमा ध्यान नदिनु, विविध कुराहरूमा बखेडाबाजी गर्नु, विनाकारण झर्को मान्नु, अरू साथीहरूलाई पनि पतिको विषयमा शङ्का गरीहेर्न उकास्नु, केरकार गर्न लगाउनु, पतिको सामाजिक सञ्जालका आइडी, पासवोर्टको ह्याक गर्न खोज्नु, केरकार गर्नु, परस्त्रीसँग रमेको भनी शङ्का गर्नुजस्ता नेपाली समाजमा रहेका स्त्रीका शङ्कालु प्रवृत्ति र आफ्नी श्रीमतीलाई वेश्याका रूपमा देख्नु, पर पुरुषसँग सल्किएकोमा शङ्का गर्नु, आक्रोशित हुनु, क्रोधित हुनु, रक्सीसेवन गरी तर्साउन खोज्नु र बारम्बार शङ्का गरी संबन्ध सुधारमा महŒव नदिनु जस्ता पुरुष प्रवृत्ति र यी प्रवृत्तिले निम्त्याएका दुर्घटनालाई मूल विषयवस्तु बनाइएको कथालाई पतिपत्नीबीचको सम्बन्धमा आउने उतारचढावको दस्तावेजका रूपमा व्याख्या गरिएको छ । विशेषतः प्रेम विवाह र त्यसको खराब परिणतिका बारेमा दर्शाउने कोशिस गरिएको कथामा अनावश्यक शङ्काले सुन्दर दाम्पत्य जीवन कसरी भष्म बन्दछ भन्ने कटु सत्य देखाइएको छ । कथाको अन्त्यमा लेखक कथाका पात्रलाई ओझेल पार्ने गरी विनाप्रसङ्ग बोल्नु र ‘दोषी को ? समाधानको उपाय के ? पाठकबृन्द ।” भनी सम्बोधन गर्नु, आफू न्यायाधीशझैँ बन्न खोज्नुचाहिँ लेखकीय कमजोरी हुन् । यसले कथाकार कथाप्रति गम्भीर नभएका हुन् कि भन्ने आभास सिर्जना गरेको प्रतित हुन्छ ।

हाउगुजी शीर्षकको कथा निष्ठावान कर्मचारीले औसत सेवा सुविधाबाट बञ्चित बन्नुपर्ने बाध्यात्मक मनोविज्ञानलाई आधार बनाई लेखिएको कथा हो । कथाले दूरदराजमा सेवाप्रवाह गर्ने औसत इमानदार सरकारी कर्मचारी कसरी आफ्नो कार्यमूल्याङ्कनमा समेत हाकिमहरूबाट ठगिन्छन् भन्ने उदाहरणका रूपमा प्रतिनिधित्व गरिएको र ठूलालाई चैन सानालाई ऐन भन्ने भाव झङ्कृत गरेको छ । एउटै तहमा भए तापनि सहरी क्षेत्रमा रही काम गर्ने कर्मचारी र दूरदराजका दुर्गम क्षेत्रमा कार्यसम्पादन गर्ने कर्मचारीबीचको भेद, पहुँच, हाउभाउ, शैली, रवाफ आदिलाई तुलना गरी ग्रामीण क्षेत्रका इमानदार कर्मचारीमा छाएका निराशालाई उजागर गरिएको छ । चाकरी, चाप्लुसी, चम्चागिरी र पहुँचविना केही हुँदैन भन्ने नेपाली नोकरतन्त्रीय मनोवृत्तिले काम गरेको छ । पहुँच नहुने कर्मचारीले नोकरी अवधिको पन्ध्र वर्षसम्म एउटै पदमा बस्नुपर्ने अवस्था, दुर्गम जिल्लामा मात्र हुने सरुवाजस्ता बाध्यता तथा इमानदारलाई भ्रष्टाचारीको संज्ञा दिई फसाइने कार्यलाई समेत दर्शाइएको कथामा सीधासाधालाई हाउगुजी देखाइन्छ भन्ने कुरा कथाले निर्देश गर्दछ । दुर्गम स्थानमा सेवाप्रवाह गर्ने कर्मचारीलाई मूल पात्र बनाइएको कथामा बढुवाको झिनो आशा देखाई हाकिमलाई भेट्न प्रोत्साहन गर्ने श्रीमती, केन्द्रका हाकिम, हाकिमका पिए, कार्यालयका गार्डहरू, कर्मचारी युनियनका सदस्यहरूलगायतलाई गौण पात्र बनाइएको छ । लामो समय इमान्दारितासाथ काम गरेपछि बढुवाका लागि जागेको भोक, हाकिमप्रतिको दृष्टिकोणमा पाएको परिवर्तन, हाकिममा पाएको जलीमुड, हाकिमप्रति सविस्तार आफ्ना समस्याहरूलाई प्रस्तुत गर्नु, हाकिमले कार्यसम्पादन मूल्याङ्कनको फाइल मगाउनु जस्ता आशावादी परिघटनाका विशेषताहरूलाई सिलसिलेवार गरिएको कथामा कार्यसम्पादन मूल्याङ्कनको फाइल अख्तियारले अनुसन्धानका लागि लगेको भन्ने भनाइले इमानदारिताप्रति नै प्रश्नचिह्न खडा गराइएको छ । एउटै मूल पात्रलाई कहीँ कपिलबहादुर खाती र कहीँ रामबहादुर खाती भनी लेखिनुले लेखकीय कमजोरी प्रस्तुत गरेको छ ।

मञ्चन शैलीको कल्पना गरी लेखिएको नाटक शीर्षकको कथाले अस्पतालमा रहेको बिरामी, बिरामीका आफन्त, बिरामीका छोराबुहारी, नातिनातिनालगायतको प्रवृत्ति र परिवेशको यथार्थता उतार्न उद्यत रहेको छ । बृद्ध रोगी आमाबुबाको स्याहार र औषधीमुलोको सन्दर्भमा छोराछोरीले पूरा गर्न नसकेको कर्तव्य, देखावटी रूपमा मन नलागी–नलागी गरिएको मायाप्रेमरूपी अभिनय, बुहारीको मनमा रोगी सासु छिटै ईश्वरको प्यारो भए हुन्थ्यो भन्ने भावना पलाउनु, नातागोता छरछिमेकी र सम्बन्धीहरूको कुरा काट्ने प्रवृत्ति, वास्तविक जीवनको यथार्थतामा लोकलाई देखाउनका लागि मात्र गरिने नाटकीय अभिनयलाई उजागर गरिएको छ । बिरामी भेट्न जाँदा रित्तो हात जानु हुँदैन भन्ने सामाजिक मान्यता, बिरामी र रोगको विषयमा हुने सोधीखोजी, सुविधासम्पन्न अस्पतालमा बिरामीलाई नलगिएको प्रति आफन्त, नातागोता र समाजले कुरा उठाउन खोज्नु तर खाली खर्चमात्र गरेर के हुन्छ र ? यहीँ ठीक छ भनी दिने सरसल्लाह, धनसम्पत्तिको नाश नगर्नका लागि श्रीमतीलाई उसका साथीहरूले दिने सल्लाह र त्यही सल्लाहलाई शिरोपर गरी पतिलाई नियन्त्रणमा राख्न खोज्ने नियन्त्रणवादी सोच, पत्नीको इसारामा चल्ने पतिको लाचार प्रवृत्ति, डाक्टरले बिरामीको मृत्युको तिथिमिति तोकिदिँदा पनि बिरामीप्रतिको नातिनातिनाको अगाध प्रेमजस्ता सामाजिक यथार्थपरक र त्यही यथार्थमा रमेको मनोप्रवृत्तिलाई देखाइएको कथाले आम मध्यमवर्गीय नेपाली छोराछोरीको मानसिकता र भोगाइको प्रतिनिधित्व गरेको छ ।

सङ्ग्रहको पन्ध्रौँ कथाको रूपमा सूचीकृत कथा भीडमा कविता शीर्षकमा रहेको छ । नेपाली साहित्यकारहरू उपेक्षा, साहित्यमै लागेर जीवन निर्वाह हुन नसक्ने अवस्था, साहित्यकारहरूप्रति घर परिवार, समाज तथा सरकारको पनि सम्मानित र दिगो विकास हुने किसिमको दीर्घकालीन सोच नहुनु, समाजमा साहित्यकारलाई हाँसोको पात्रका रूपमा लिने विषय, सच्चा साहित्यकार जतिसुकै बिघ्नबाधा आए पनि अडिग रहन सक्छ भन्ने आदर्श, घरपरिवार र समाजप्रति साहित्यकारहरू व्यावहारिक नहुने समस्या, कवि साहित्यकारहरूमा आफ्नो साहित्यको विषयप्राप्तिका लागि गाउँ, सहर, बजार, भीडभाड चहार्ने कार्यजस्ता स्वभावजन्य विशेषताहरूलाई झल्काउन खोजिएको कथामा कवि र कविताप्रतिको समाजमा रहेको नकारात्मक धारणा र आफ्नो रचनालाई शक्तिशाली बनाउनका लागि कवि, साहित्यकारले गर्ने हदैसम्मको प्रयासलाई विशेष स्थान दिइएको छ । एउटी आमाले आफ्नो घरपरिवारको गरिबी अन्त्यका लागि निराहार बसेको लक्ष्मीपूजाको व्रत, व्रतको फलका रूपमा प्राप्त गरेको छोरो, छोरा हुर्किंदै जाँदा धनसम्पत्ति कमाउने कार्यतर्फ उन्मुख हुनुको सट्टा साहित्यप्रति बढेको अगाध प्रेमलगायतका प्रसङ्ग उल्लेख छन् । कवि लक्ष्मीलाई सुधार्नका लागि कालीबहादुर मल्लको रिफ्रेन्स लिइएको कथामा कालुदादामा दादागिरी चरित्र, कुकुरलाई देखि नसहने व्यवहार, उसकी प्रेमीकाकी रूपमा नर्स शिलाको प्रवेश र त्यसले निम्त्याएको कालुदादाको परिवर्तित व्यवहारले ऊ सुध्रिएको र कवि लक्ष्मीलाई पनि विवाह गरिदिए सुध्रन सक्थ्यो कि भनी विवाहको बाटो अपनाएको पाइन्छ तर लक्ष्मीलाई विवाहमा पनि नयाँ कविता फुथ्र्यो कि भन्ने आशयमा व्यक्त गरिनुले कविजीहरू घरपरिवार र समाजप्रति त्यति व्यावहारिक छैनन् भन्ने कथाको भाव झल्काउन खोजिएको छ ।

विकृत यौनप्यास मेटाउनको दूषित मानसिकता भएको पुरुषले दूधमा यौन उत्तेजक र बेहोसी हुने औषधी मिसाई सेतो दूधमा गरिएको मिसावट र त्यसबाट उत्पन्न असरलाई कालो दूधको उपमा दिइएको छ । कथामा किशोरीमा आएको शारीरिक वृद्धि र विवाहका लागि केटा खोज्ने हतारो, ज्योतिषीय भविश्यवाणीप्रतिको आस्था र भविश्यवाणीले विशृङ्खलित बनेको घरव्यवहार, लमीको बूढो केटालाई पनि ठिटो र धनाढ्य देखाउन बढाइचढाई गर्ने प्रवृत्ति र पुरातनवादी सोचशैलीले ग्रसित पात्रलाई स्थान दिइएको छ । कथामा ज्योतिषीप्रतिको विश्वास, उसले जुराएको माला नाम तथा मालालाई मूल परेको भनी दिइएको संज्ञा र मूल परेकी मालाले आमाबाबु, श्रीमान् कसैप्रति पनि राम्रो नगर्नेजस्ता भनाइले उसको बाबुले तनाव शान्तिका लागि रक्सीको सहारा लिने गरेको, आमाले आफ्नो कोखमाथि धिक्कारेमा, मूल्याहामा परेकाले घरपरिवार र समाजले गरेको हेलाँ तिरस्कार, चौध वर्ष उमेरकी केटीलाई चालीस वर्षको मतिभ्रंश केटा मिलाउन आउने लाउके प्रवृत्तिका लमीको चरित्र, रुढीवादी प्रथाले ग्रसित समाज, अन्धविश्वासी परम्परा, विवाह गरेको पतिका हातबाट कालो दूध दिई बेहोस बनाई गरिएको कुकृत्यले निम्त्याएको दर्दनाक अवस्था र त्यसबाट मालामा उत्पन्न भएको सङ्घर्षपूर्ण आक्रोशलाई समेटिएको कथा समाजमा रहेका सामाजिक प्रवृत्तिको भण्डाफोरका रूपमा आएको छ । कथामा नारीसँग जोडिएको जन्मलाई लिएर अवलाका रूपमा प्रस्तुत गर्नुले कथाकारको महिलाप्रतिको दृष्टिकोणमा समानता नभएको विषयलाई प्राथमिकता दिएको, समाज र समाजका विकृत मानसिकता भएका मानिसको प्रवृत्ति र त्यसले नित्याउने दुर्घटनासम्मलाई दर्शाइएको छ ।

मृत्यु कुरेर पर्खिएकी एउटी बुढी आमाको ईश्वरप्रति गरिएको सहज मृत्युको आकाङ्क्षालाई निवेदन शीर्षकको कथामा उतारिएको छ । सुदूरपश्चिमको बझाङको विकट गाउँ अनि धनगढीको सुविधामय सहरको पेरिफेरी समेटिएको कथामा छाउपडी प्रथा, सुदूरपश्चिमका महिलाले भोग्नुपरेका समस्याहरू, छोरा पाउने आशमा धेरै सन्तान जन्माउने पुरुषप्रधान समाजको मनस्थिति, बेला नहुँदै बन्नुपरेको विधवा, लालाबाला हुर्काउनका लागि गर्नुपरेको सङ्घर्ष र सङ्धर्षले सिकाएको पाठ, छोरीचेलीलाई सहजतासाथ गरिदिएको कन्यादान तथा छोरालाई ठूलो सपना देख्दै दिलाएको शिक्षादीक्षा, छोराले जागिर गर्न थालेपछि उसबाट गरेको आशा, विवाह अघिसम्म आमाप्रति छोराको एकदमै हेरचाह तथा अगाध प्रेम, छोराको विवाहपछि कामवासनामा लिप्त र श्रीमतीको प्यारो बन्नखोज्दा आफन्त र आफ्नी जन्मदिने आमा समेतलाई भुलेको घटना, उमेर बृद्ध हुँदै जाँदा बढेको धार्मिक आस्था र त्यसैअनुरूपका क्रियाकलापलाई स्थान दिएको कथामा छोराको नोकरीको बाध्यता र उसको धनगढीको बसाइ, पछि आमालाई पनि कोठामा नै ल्याइएको घटना, सासु बुहारीबीचको वैचारिक अन्तद्र्वन्द्व र घोचपेच, छोरा–बुहारी र सासूबीचको त्रिकोणात्मक अन्तरसङ्घर्षलाई देखाइएको छ । आमाको माया छोरामाथि, छोराको माया श्रीमतीमाथि भनेझैँका घटनाहरूलाई स्थान दिइएको कथामा नेपाली समाजमा आम आमाबुबाले भोगेका भोगाइ र त्यस भोगाइको वर्णनलाई प्राथमिकता दिइएको पाइन्छ । विभिन्न उपशीर्षकहरूमा विभाजित गरिएको कथामा आमाको बूढो जर्जर शरीरभित्रको आत्माले ईश्वरलाई चाँडो बोलाउन र बुहारीलाई एकछिन भए पनि छोरालाई आफ्नो सामीप्यतामा रहनका लागि कारुणिक विन्ति निवेदन चढाएको र आफ्नो मन हल्का बनाएका प्रसङ्गको कुशलतासाथ प्रस्तुत गर्ने कोसिस गरेको पाइन्छ ।

सडेको फर्सी शीर्षकको कथामा प्रहरीभित्रको दूरावस्था, चाकडीप्रथाको झाँगिँदो स्वरूप, प्रहरी अफिसरको विकृत मानसिकता, प्रहरी अफिसरका श्रीमतीहरूको चुरीफुरीपन र उन्माद, हाकिमकी श्रीमतीले प्रहरी जवानलाई दलाउने प्रवृत्ति, भड्किलो स्वभाव र प्रहरीको क्षेत्रमा उनीहरूले जमाएको प्रभाव एवं प्रहरी सेवाका पूरै विकृतिलाई उधिन्ने प्रयास गरिएको कथामा प्रहरी अफिसर र हाकिमकी श्रीमतीको चरित्रलाई सडेको फर्सीको संज्ञा दिँदै पतित प्रवृत्तिको भण्डाफोर गर्न खोजिएको छ । नेपालगञ्जका क्षेत्रीय प्रहरी प्रमुखलाई प्रमुख पात्रका रूपमा उल्लेख गर्दै उसैको विविध मनसायको पेरिफेरिको फेहरिस्त कथामा छ । विशेषतः प्रहरी अफिसरको देखिने नदेखिने भ्रष्ट आचरण र परस्त्रीसँगको सामीप्यताको व्यवस्थापनका चुनौतीलाई ओकल्न खोजेको कथामा ऊ आफूचाहिँ श्रीमती पीडित भएको व्याख्या गरिएको छ । हाकिमलाई मात्र नभई हाकिमनीका पनि माग पूरा गर्नुपर्ने प्रहरीका तल्ला तहका कर्मचारीको दूरावस्था, प्रहरीमा हाकिम भएपछि घरघडेरी गाडी किन्नसक्ने हैसियतको स्तरोन्नतिजस्ता घुस्याहा चरित्रको वर्णन पाइन्छ भने माथिल्लो दर्जाको हाकिम र नेताहरूको भनसुनलाई समेत शिरोपर गरी आफ्नो जागिरको वचावट गर्नुपर्ने तथ्यलाई दर्शाउन खोजिएको कथामा आफ्नो कमजोरीलाई पक्रन खोज्ने पत्रकार– लगायतको कलमलाई गुणगानका पर्रा लेख्न लगाउनका लागि पूरा गरिदिनुपर्ने उनीहरूको डिमाण्ड, आफूमाथिका हाकिमका श्रीमती सहितको भ्रमणमा गर्नुपर्ने स्वागत सत्कार, हाकिमका घरका भान्से, कामदार सबलाई योग्यता नपुग्दा नपुग्दै पनि प्रहरीमा भर्ना गर्नुपर्ने, मेडिकल रिपोर्टबाट अनफिट भए पनि आफू सजायको भागिदार बन्नुपर्ने कारणले गर्दा प्रहरीको बर्दीमा खिया लागेको महसुस हुनुले कार्यसम्पादनमा पर्न जाने मनोवैज्ञानिक असरलाई समेत छताछुल्ल गरिएको छ । तथापि राष्ट्रसेवक प्रहरीलाई लठैत भनी गरिएको सम्बोधनले लेखकको प्रहरी प्रशासनप्रतिको नकारात्मक दृष्टिकोणको उजागरसमेत गरेको छ ।

सङ्ग्रहमा उन्नाइसौँ कथाको रूपमा रहेको कल्चुरी कथामा जाजरकोटको दुर्गम टालेगाउँमा सरुवा रोग फैलँदा त्यहाँका जनताले भोग्नुपरेको दुखका पहाडहरू र त्यस्तो भयावह अवस्थामा पनि सिंहदरबारको दृष्टि नपुगेको यथार्थतालाई बिम्बित गर्न खोजिएको छ । गरिबीले आहत अवस्था, बालबच्चालाई स्कूल पठाउन नसकिएको बाध्यात्मक अवस्था, बिकट भौगोलिक अवस्थाले उत्पन्न गराएको कठिनाई, गाउँबाट पैसा कमाउनका लागि लाहुर जानुपर्ने बाध्यता, औषधीमुलोका लागि स्वास्थ्य संस्थासम्मको पहुँच नहुनु तथा जति विकटता भए पनि सहरी परिवेशका असरका रूपमा चाउचाउ, बिस्कुट र सिलप्याक रक्सीहरू गाउँमा भित्रँदा गाउँमा भएका सम्पूर्ण पैसा सहर प्रवेश गर्नु जस्ता समस्या र दर्दनाक अवस्थालाई कथामा बडो कारुणिक शैलीमा उतार्ने प्रयास गरिएको छ । कथाको मुख्य पात्र कल्चुरी वा किस्नेकी श्रीमतीको छोराप्रतिको अगाध मोह, छोरालाई शिक्षादीक्षा दिन खोज्दाखोज्दै बाध्यात्मक अवस्थामा दाउराघाँस गराउनु, उमेर पुगेपछि छोरो भारतको कालापार गई ल्याएको खुसीबाट बुनिएको सपना, स्वदेशमा उचित रोजगारी, परिश्रमको उचित मूल्य नपाउने दर्दनाक अवस्था र त्यसले देखाएको लाहुरको बाटो र लाहुर सधैँ लाहुरजस्तो नहुने यथार्थलाई जस्ताको तस्तै उतार्न खोज्दा त्यस भेगको सजीव चित्र चित्रित भएको छ कथामा । गाउँमा रोग फैलिएको धेरै दिन बितेपछि र मिडियाहरूले व्यापक रूपमा सरकारको आलोचना गरेपछिमात्र कुम्भकर्णदृष्टि खोलेको सरकार र सरकारी अधिकारीहरूले महामारीलाई गम्भीरतासाथ बुझ्न नसकेको र केवल सेलिब्रेटी शैलीमा गाउँले समक्ष प्रस्तुत भएको र मिडियामा थप चर्चा र हिरोगिरीका लागि कल्चुरीलाई हेलिकप्टरमा उडाएर काठमाडौँको अस्पतालमा लैजाने कार्य गरेको यथार्थतालाई व्यङ्ग्यात्मक तवरले प्रस्तुत गरिएको छ ।

‘चियर्स’ कथासङ्ग्रहको अन्तिम कथाका रूपमा सङ्गृहीत कथा चुरा फुट्नु हुँदैन शीर्षकको छ । गर्भे टुहुरो धर्मपाललाई प्रमुख पात्रको रूपमा लिइएको कथामा उसको असामाजिक, अव्यावहारिक प्रवृत्ति र ब्रह्मचारी सोच, डिप्रेशन अनि त्यस्तो कमजोर सोचले उत्पन्न गराएको एक्लो पनाको आभासले समाजका हरेक मानिसप्रतिको आफ्नो दृष्टिकोणमा नैराश्यता प्रस्तुत गरेको पाइन्छ त्यसो त नैतिकता बिर्सिएको उसको काकाको कपटपूर्ण व्यवहार र त्यही व्यवहारविरुद्ध अदालतमा मुद्धा हाली सम्पत्ति फिर्ता लिनुपरेको वास्तविकताले गर्दा पनि कथाका खलपात्रका रूपमा प्रस्तुत आफ्नो काकाको अनैतिक सम्बन्ध, बालयौनव्यभिचार, कपटपूर्ण व्यवहारले धर्मपालको मानसिकतामा नारी प्रतिको सम्मान, आदर्शपरक व्यवहारको प्रस्तुति र सहानुभूतिको भाव प्रकट भएको पाइन्छ । आफ्नो काकाको यौन दुराचारी छवि, अनैतिक बाल यौनसम्बन्ध र त्यसले कोमल बालिकामा हुने असह्य पीडालाई बारम्बार कठोरतासाथ सुन्नुपर्दा चरम पीडावोधमा सबै नारीहरू कमजोर हुन्छन् र उनीहरूको कोमल हृदयमाथि खेल्नु पाप हो भन्ने सोच बोकी ब्रह्मचारी प्रवृत्ति अँगालेकामा धर्मपालको साथीले धर्मपालको मनस्थितिमा परिवर्तन गराउन उल्लेख्य भूमिका निभाएको र मन्दिरको नागाबाबाले जोगिनीको कुरा झिकी तेत्तीसकोटी देवता, उनीहरूको दाम्पत्य जीवनको उदाहरण दिँदै एक्लो जिन्दगी सुखी जिन्दगी हुन नसक्ने र सुखद् जिन्दगीका लागि दाम्पत्य जीवन आवश्यक छ भनी सुझाएको उल्लेख छ । महिलाको सिउँदोभरिको सिन्दुर, हातभरिका चुरा, विवाहिता जोडीबीचको हाँसोठट्टा आदिले गर्दा चुरा नफुटाइकन गरिने प्रेम, साटिने माया र शारीरिक सम्बन्धलाई सांसारिक चक्र पूरा गर्ने यन्त्रका रूपमा व्याख्य गरिएको छ । समसामायिक परिवेश, यौन असन्तुष्टि, सङ्कुचित मानसिकता, सम्पत्तिले निम्त्याएको द्वन्द्व, महिला र पुरुषबीचको सन्तुष्टि, असन्तुष्टिजस्ता विशेषताहरूले समाजमा रहेको देखिने नदेखिने पाटोलाई प्रकाश पारेको छ ।

‘चियर्स’ कथासङ्ग्रहमा रहेका कथाहरू शीर्षक चयनका दृष्टिले सार्थक देखिन्छन् । धेरैजसो कथाहरूमा समसामयिक विषयवस्तु कायम गरिएको छ भने सामाजिक असमानता, विभेदलाई चित्रण गरिएको छ । विषयवस्तुमा रहेको विविधता, धार्मिक अन्धता, व्यङ्ग्यात्मकता, उचित संवाद, उपयुक्त पात्र चयन, सरल भाषा, स्वाभाविक घटना र परिवेश, प्रतीक र विम्बको समुचित प्रयोग विशेषताका रूपमा रहेका शाहका धेरै कथामा आञ्चलिकताको प्रभाव रहेको छ । सामाजिक यथार्थकै आधारभूमिमा रही स्थानीय परिवेशको चित्रण गरेको बढी देखिन्छ भने आञ्चलिकता सांस्कृतिक र जातीय चेतनाका दृष्टिले बढी प्रभावी भएको पनि पाइन्छ । यसरी आञ्चलिकता भूगोलसँग मात्र नगाँसिएर लोकसंस्कृति, लोकजीवन, मिथक, जातीयता, जातीय संस्कृति, सीमान्तीयता, आचारविचार, भाषा, धर्म, रीतिस्थिति, पात्रहरू, स्थानिक मूल्य र मान्यता आदिसँग पनि जोडिएर आएको देखिन्छ । सीमान्तीकृत वा किनारीकृतहरू, उपेक्षित र तिरस्कृतहरू, दलित जनजातिहरू एवम् तिनका भोगाइ, परम्परा र जीवनशैलीसँग गाँसिएका प्रवृत्तिलाई पनि केही कथाले उजागर गरेका छन् । त्यसका साथै समाजभाषा, समाज–मनोभाषा, वैज्ञानिक, मिथकीय, सीमान्तीय, सांस्कृतिक, जनजातीय आदि विविध पक्षलाई पनि स्थान दिइएको छ ।

कथाकार शाहले सङ्ख्यात्मक हिसाबले धेरै कथाको जन्म दिइसकेको भए तापनि कथामा थप निखार ल्याउन र पाठकको दिमागमा सङ्गृहीत भई बस्नका लागि थप कर्मको खाँचो छ । विशेषतः ‘चियर्स’ कथा सङ्ग्रह र उनको कथाकारिताका केही कमजोरीहरूमा अखबारी भाषाको प्रयोग हुनु, कथाले पाठकलाई तान्न नसक्नु, काव्यात्मकता र शैलीगत चामत्कारिकता नभेटिनु, कतिपय कथाहरू ज्यादै लामा लघुउपन्यासका साइजका हुनु, कथा लम्ब्याउनकै लागि अनावश्यक गन्थन समेटिनु, आजको युग सुहाउँदो व्यस्त समाजलाई दृष्टिविन्दुमा राखी छिटो, मिठो, सरल, सरस खाले सिर्जनामा जोड नदिनु, कथाका बीच–बीचमा अस्वाभाविक ढङ्गबाट लेखक बोल्नु तथा स्पष्टिकरण दिन खोज्नु, कतिपय ठाउँमा बेप्रसङ्गका वाक्यहरूको प्रयोग हुनु, शब्दचयनमा चिप्लनु आदि रहेका छन् । यस्ता कमजोरीहरूलाई दृष्टिगत गरी आजको ग्लोवलाइजेसनको युगमा पुराना परम्परावादी सोच शैलीका विषयवस्तुभन्दा पनि अझै फराकिला, नवीनतम् विषयवस्तुमा जोड दिँदा शाहका कथा अझै उत्कृष्ट, पाठकका चाहनाअनुरूपका र दर्बिला र सशक्त बन्न सक्छन् भन्न सकिन्छ ।

सन्दर्भसूची
डा. ईश्वर बराल, झ्यालबाट, (साझा प्रकाशन…..) ।
डा. घनश्याम नेपाल, आख्यानका कुरा, (नेपाली साहित्य प्रचार समिति, सिलगढी, १९८७) ।
नेपाली साहित्यको इतिहास, (स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडिया) ।
पारशमणि शर्मा, कथाको कथा (प्रकाशित समालोचना, मझेरी डटकम, ७, २९, २०१२) ।
प्रतापचन्द्र प्रधान, नेपाली कथावलोकन, (दार्जीलिङ् ः दीपा प्रकाशन, सन् १९८३) ।
राजेन्द्र भण्डारी, सिक्किमका प्रमुख नेपाली कथाहरूको विश्लेषण र मूल्याङ्कन, (उ.य.वि.वि.मा विद्यावारिधि हेतु प्रस्तुत पि.एच्.डि शोधप्रबन्ध, सन् २००१, अप्रकाशित) ।
लक्ष्मणप्रसाद गौतम र ज्ञानु पाण्डे, नेपाली कथाको इतिहास, (नेपाल प्रज्ञा प्रतिष्ठान, २०६८) ।
डा. हरिप्रसाद शर्मा, कथाको सिद्धान्त र विवेचन, (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, प्रथम, २०५९) ।
डा. हिमांशु थापा, साहित्य परिचय, साझा प्रकाशन, काठमाडौँ, चौथो २०५० ।
(आलेख, वर्ष – २ अङ्क–१०÷११ पूर्णाङ्क – २०÷२१ २०७७ वैशाख÷जेठ (संयुक्ताङ्क बाट)