अजरबैजानको बाकुमा आयोजित कोप—२९ मा नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई जोड दिएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले नेतृत्वमा कोप—२९ मा सहभागी भएको नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्किएको हो । सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले नेपालले कोप—२९ मा राष्ट्रपति पौडेलले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको विषयलाई विशेष जोड दिनुभएको बताउनुभयो ।
सहसचिव राईका अनुसार राष्ट्रपति पौडेलले जलवायुजन्य प्रकोपहरुले नेपालमा ठूलो जनधनको नोक्सानी भएको र विश्व तापक्रम वृद्धिले हिमाल खतरामा परेको बताउँदै हिमाल खतरामा पर्दा मानव समुदाय नै खतरामा पर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको छ ।जलवायु न्यायका लागि विकसित देशहरुले विकासशील देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिनुभएको पनि राष्ट्रपतिको भनाइ उद्धृत गर्दै सहसचिव राईले बताउनुभयो ।
अजरबैजानमा राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेट गर्नुभएको थियो । जसमा जलवायु परिवर्तनमा अल्पविकसित देशहरु कारक नभए पनि उनीहरुले यसको दण्ड भोग्नुपरेको विडम्बनापूर्ण अवस्था भोग्नुपरेकोमा विकसित राष्ट्रहरु अझ बढी जिम्मेवार हुनुपर्ने धारण महासचिवले राख्नुभएको बताउनुभयो ।त्यस्तै अजरबैजानका राष्ट्रपति इलहाम अलियबको भेटमा अबको एक वर्षसम्म अजरबैजान कोप २९ को अध्यक्ष रहने र क्लाइमेट एक्शनका लागि सक्रिय रहने कुरा गर्नुभएको जानकारी गराउनुभयो । उहाँले नेपालले कृषि, पर्यटन क्षेत्रमा ठोस प्रस्तावहरु पेश गरेमा अजरबैजानका लगानीकर्ताहरु लगानीका लागि तयार रहेको कुरा पनि राष्ट्रपति अलियबले बताउनुभएको सहसचिव राईले जानकारी दिनुभयो ।
सहसचिव राईले भन्नुभयो, ‘यस सम्मेलनमा राष्ट्रपतिज्युले……..जलवायु न्यायका लागि विकसित देशहरुले विकासशील देशहरुलाई पर्याप्त आर्थिक श्रोत, प्रविधि तथा अन्य सहायता उपलब्ध गराउनुपर्ने विषयलाई जोड दिनुभएको छ । हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको महशुस गरिएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको सन्देश दिनुभएको छ ।’
सहसचिव राईका अनुसार राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेको सारा पृथ्वीको सुरक्षा हो भन्नेकुरालाई हरेक मञ्चहरुमा उठाएको विषय निकै प्रभावकारी भएको छ । हिमालदेखि समुन्द्रसम्मको सम्बन्धलाई एकीकृत रुपमा सम्बोधन गर्न एउटै आवाज बनाउन नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको र सगरमाथा संवादमा उपस्थित हुन आह्वान गर्नुभएको बताउनुभयो ।