नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । अध्यक्ष प्रचण्डले आफूहरुले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरुलाई सफल हुन दिन नहुने बताउनुभयो । उहाँले संविधानको मर्म र भावना विपरित संसद विघटन गरेर देशलाई फेरि एउटा भुमरितर्फ लैजाने प्रयासका बिरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष प्रचण्डले विगतको जस्तै संविधान मिच्ने, संसदलाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताउनुभयो । देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा शतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । प्रचण्डले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरु गम्भीर हुन जरुरी रहेको बताउनुभयो । आफूले केही नराम्रा काम गरेको स्वीकार गरेको पनि बताउनुभयो ।