अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 19:15

बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छ : सभामुख घिमिरे

बिआरटीनेपाल २०८१ कार्तिक ३० गते ५:३० मा प्रकाशित

सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा रहेको बताउनुभएको छ ।शुक्रवार काठमाडौंमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलाको निचोड बुझ्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यो विषय संसदमा पनि छलफलको विषय बनेको बताउनुभयो ।यसबारेमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानूनले व्यवस्था गरेको हिसावबाट नसमेटिएकालाई कसरी नागरिकता दिने भन्नेबारेमा कार्यदल नै बनाइ काम गरिरहेको सभामुख घिमिरेले बताउनुभयो । उहाँले कार्यदलले प्रतिवेदन दिइसकेपछि सरकारले चाँडै कानून बनाउने र संसदमा बहस हुने अपेक्षा गर्नुभयो ।

सभामुख घिमिरेले यौनिक, अल्पसंख्यक रुपमा रहेका समुदायहरुलाई मानवको रुपमा व्यवहार नगर्ने खालको परिपाटी रहेको भन्दै यसको बारेमा राजनीतिक क्षेत्रबाट मुलतः अभियानहरुबाट कार्यक्रम लैजाने र उनीहरुको अवस्था, चिन्तन, चेतनालाई विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो । तदनुकलुको अन्य कानूनी प्रवन्धहरु मिलाउने काम गर्न जरुरी रहेको पनि उहाँले बताउनुभयो ।बोल्न नसक्ने बालबालिका र किशोरकिशोरीहरुका समस्या समाधान गर्न उनीहरुका समस्या दोभाषेका माध्यमबाट आवश्यकता पूरा गर्नुपर्ने सभामुख घिमिरेले बताउनुभयो । भौतिक संरचना निर्माण गर्दा हिँड्न नसक्नेहरुका लागि तदअनुकुल वातावरणका भौतिक संरचना निर्माण गर्ने कानूनी प्रबन्ध भइरहेको पनि उहाँले बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘वास्तवमा नागरिकताको समस्या, बेवारिसे रहेर हुर्किएका, बढेका बालबालिकाहरुको नागरिकता कसरी दिने भन्नेकुरा गम्भीर समस्यको रुपमा आएको छ । यसबारेमा संसदमा बहसको विषय बनेको छ । छलफलको विषय बनेको छ । यो सँगसँगै गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका, अनाथालयले गार्जेनसिप लिएका तर हाम्रो नागरिकतासम्बन्धी कानूनले व्यवस्था गरेको हिसावबाट नसमेटिएकालाई कसरी नागरिकता दिनुपर्छ, भन्नेबारेमा कार्यदल बनाएर काम भइरहेको छ ।’ सभामुख घिमिरेले सबै खालका बालबालिकाहरुलाई राष्ट्रिय गौरवको रुपबाट अगाडि लैजानका लागि चाहिने सबै प्रवन्ध मिलाउन राज्यमा सुशासन र राज्य आर्थिक रुपबाट मजबुत हुन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू