गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सो कुरा बताउनुभएको हो ।
गृहमन्त्री लेखकले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरुलाई निर्देशन दिइएको पनि बताउनुभयो । उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि बताउनुभयो ।
निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रवन्ध मिलाउने पनि गृहमन्त्री लेखकले बताउनुभयो । गृहमन्त्री लेखकले निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग जुटाउने कुरामा सरकार लागि परेको बताउनुभयो ।