अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 09:47

माओवादीको उकालो यात्रा सुरु भएको छ – प्रचण्ड

बिआरटीनेपाल २०८१ कार्तिक २८ गते ६:०८ मा प्रकाशित

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताउनुभएको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उहाँले सो कुरा बताउन्भएको हो । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य र पहिलो पार्टी बनेको थियो’, अध्यक्ष प्रचण्डले भन्नुभयो , ‘तर विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको छ । यो यात्रा रूपान्तरणसहित निरन्तर अघि बढ्ने छ ।’

अध्यक्ष प्रचण्डले जनताले माओवादी एकताबद्ध भएको देख्न चाहेको र त्यसको वातावरण पनि बन्दै गएको बताउनुभयो । पार्टी एकताका विभिन्न दलगतरुपमा विभिन्न माओवादी घटकहरूसँग छलफल भइरहेको र नेता कार्यकर्ताको स्वस्फूर्त ध्रुवीकरण पनि चलिरहेको उल्लेख गर्दै उहाँले जनयुद्धको तयारी, जनयुद्धको सञ्चालन र शान्ति प्रक्रियाको पनि मुख्य नेतृत्व हुनुको हैसियतले आफूले सबैलाई गोलबन्द गर्दै अघि बढ्ने बताउनुभयो । जनयुद्ध लडेका कयौँ नेता कार्यकर्ता क्रान्ति भइहाल्छ कि भनेर विद्रोह गरेर गएको उल्लेख गर्दै प्रचण्डले भन्नुभयो , ‘क्रान्तिको खोजीमा निस्कनु तपाईँहरूको गलत नियत थिएन तर क्रान्ति रहरले नभई एउटा प्रक्रियाले हुने भएकाले फेरि पनि क्रान्तिकारीहरुबीच ध्रुवीकरण र एकताको विकल्प छैन । सबै साथीहरू ढिलोचाँडो एक ठाउँमा हुने छौँ, जनताले क्रान्तिप्रति गरेको विश्वास र सपना पूरा गर्न सबै मिलेर नयाँ प्रक्रियाबाट अघि बढ्ने छौँ ।’

अहिले एकातिर माओवादी एकताको क्रम सुरु भएको र अर्कोतिर आफूले प्रधानमन्त्रीको रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा थालेको पहलका लागि जनतामा माओवादी पार्टी र प्रचण्डप्रति विश्वास बढेको उल्लेख गर्दै उनले विभिन्न जिल्लाहरूमा जाँदा २०६४ कै झल्को आउने गरी जनआर्षण देखिन थालेको बताउनुभयो ।

सो क्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य डा. थारु ‘शेरमान’, लुम्बिनी प्रदेश सदस्यहरू वीरबहादुर बिक ‘संघर्ष’, तुकलाल पुन ‘यात्री’, माया थापा, नन्दकिशोर यादव र कपिलवस्तु जिल्ला सदस्य रामप्रसाद खनाल माओवादी केन्द्रमा प्रवेश गरेका थिए । कपिलवस्तुको मुख्य नेतृत्व माओवादी केन्द्रमा आएपछि अब जिल्लाका सबै नेता कार्यकर्ता जिल्लामा आयोजना हुने कार्यक्रममार्फत माओवादी केन्द्रमा सामेल हुने डा. थारुले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको कार्यक्रममा माओवादी केन्द्रका लुम्बिनी प्रदेश इञ्चार्ज चक्रपाणि खनाल ‘बलदेव’को पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू