अस्ट्रेलियाको सिड्नीमा नेपाल महोत्सव हुने भएको छ । गैरआवासीय नेपाली संघले आगामी नोभेम्बर २३ ९शनिबार०मा सिड्नीको डार्लिङ हार्बरस्थित टुम्वोलङ पार्कमा महोत्सव गर्न लागेको हो । महोत्सव बिहान १० देखि रातिको १० बजेसम्म चल्नेछ । नेपाल सरकारको परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डसँगको विशेष सहकार्यमा नेपालको पर्यटन प्रवर्धन गर्न आयोजना गरिन लागेको हो ।
कार्यक्रममा अस्ट्रेलियास्थित विविध पर्यटन र व्यावसायिक स्टलहरू रहनेछन् । यस्तै, नेपाली खानाका परिकारसहित दुई दर्जनभन्दा बढी छुट्टाछुट्टै नेपाली परिकारका स्टल राखिने गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका एनएसडब्लू राज्य समितिले जनाएको छ । कार्यक्रमको प्रचार प्रसारका लागि सिड्नी सहरको लिभरपुल स्ट्रिट, बाथर्स्ट स्ट्रिट फेस्टिभल सम्पन्न हुने डार्लिङ हार्वरको तुम्वोलङ पार्क वरपर नेपाली झण्डा फहराइने भएको छ ।
व्यावसायिक स्टल र प्रदर्शनीसँगै यसपटक नेपाली ह्याण्डीक्राफ्टका उत्पादनहरू समेत महोत्सवका आकर्षण हुने जनाइएको छ । महोत्सवअघि शनिबार बिहान साढे १० बजेबाट विशेष परेड र झाँकीमार्फत नेपालको कला संस्कृति झल्काउने बाजागाजासहित शान्ति पदयात्रामार्फत सहर परिक्रमा गरिने अतिथि व्यवस्थापन समितिका संयोजक शीतल गिरीले जानकारी गराउनुभयो । कार्यक्रममा नेपालबाट आएका द एक्स ब्यान्ड, आस्था राउत र हेमन्त शर्माको विशेष प्रस्तुति रहनेछ । साथै विभिन्न भाषा, संस्कृति झल्काउने नृत्यहरू प्रदर्शन गरिने कार्यक्रम छ ।