अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३३ | Colorodo: 09:48

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद् : उद्योगी व्यवसायी

बिआरटीनेपाल २०८१ कार्तिक २६ गते ३:४४ मा प्रकाशित

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि करिव पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान शुरु गरेका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरुपमा सञ्चालन हुन सकेको थिएन । तर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रुपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेसँगै उद्योगी व्यवसायीहरु उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए । विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौैंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरुलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरुले राज्यले नीतिगत रुपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरुको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरुको भनाइ छ । उनीहरुले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालिन रुपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा,थाई र एयर एशियाले विमानस्थलबाट उडान नै शुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताउनुभयो । उहाँले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको भन्दै काठमाडौंको विमानस्थल बिस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गर्नुभयो ।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष ढकालले पर्यटन आगमनको सिजनको समयमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताउनुभयो । उहाँले पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल बिस्तार गर्न व्यवसायीहरुले माग गरेको बताउनुभयो । उहाँले काठमाडौं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गर्दा नयाँ अवसरहरु शुरु हुने बताउनुभयो ।

अध्यक्ष ढकालले भैरहवा, बुटवल क्षेत्रमा होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएपनि विमानस्थल सञ्चालनमा आउन नसक्दा खर्बौंको लगानी डुब्ने अवस्थामा रहेको बताउनुभयो । उहाँले भैरहवाबाट दीर्घकालिन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुने बताउनुभयो । उहाँले बुटवल, पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा रहेको बताउनुभयो । उहाँले कृषि उत्पादन विक्री लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको बताउनुभयो । उहाँले सरकारले सहुलियत, सुविधा र पूर्वाधारहरु तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवद्र्धन ठूलो योगदान गर्ने उल्लेख गर्नुभयो । उहाँले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई, एयर एशिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान शुरु गरेका छन् । भैरहवाबाट विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि राम्रो विषय हो । निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएका थियांै । काठमाडौंमाको विमानस्थल बिस्तारको क्रममा भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको त्यो निजी क्षेत्रको लागि खुशीको कुरा हो ।’

उद्योगी व्यवसायी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताउनुभयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गर्नुभयो । उहाँले थाइ एयर एशियाले उडान शुरु गरेको भन्दै गौतमबुद्धको जन्म भूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।

गोल्यानले भन्नुभयो, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रको लागि उत्साहित हुने खबर हो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने विषय हो । थाइ एयर एशियाले उडान शुरु गरेको छ । नेपालको मार्केटिङ गर्न सक्नुपर्छ ।’ उहाँले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवाबाट गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू