अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३८ | Colorodo: 16:53

कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

बिआरटीनेपाल २०८१ कार्तिक २५ गते ५:३५ मा प्रकाशित

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो । न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अधिकारीलाई प्रहरीले आजै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो । तिहार अघि असम्बन्धित मानिसहरु लिएर जापान गएका उनलाई जापानको अध्यागमन विभागले विमानस्थलबाटै फर्काईदिएको खुलासा भएपछि अधिकारीले कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएका थिए ।

अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्याउन खोजेको आरोप छ । एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो । अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए । सोही प्रकरणमा पक्राउ परेका ६ जनाको बयानको आधारमा अधिकारीलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू