अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 16:46

पुरानालाई गाली गरेर नयाँ हुन सकिँदैनः स्वास्थ्यमन्त्री पौडेल

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ६:३१ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पुराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गर्नुभएको छ । नयाँ पार्टीले पनि पुरानाले जस्तै विचारको मात्रै राजनीति गरेको उहाँको भनाइ छ। ‘नयाँ आउने पार्टीले पनि स्रोतलाई पुरानाले जस्तै बिर्सेको स्थिति छ। र पुरानालाई गाली गरेर नयाँ हुन सकिँदैन’, शनिबार गृहजिल्ला तनहुँ पुगेर मन्त्री पौडेलले भन्नुभयो। नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षणमा मन्त्री पौडेलले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यन्वयन गर्ने स्रोतका बीचमा कहीँकतै तालमेल नमिलेको बताउनुभयो । भाषण पूरा गर्न स्रोत कसरी पुग्छ चटक्कै बिर्सेको पौडेलको भनाइ थियो।

‘हामीले भाषण गर्दै गयौँ। भाषण गरेको कुरा कसरी पूरा हुन्छ त्यो स्रोतसँग कहिलेपनि जोडेनौँ। भाषण गरेर पूरा गर्ने विषयहरुको स्रोत सुनिश्चितता गर्ने, कहाँबाट त्यो स्रोत आउने होरु स्रोत कसरी जेनेरेट गर्ने होरु नेपालमा आर्थिक व्यवस्था कसरी व्यवस्थित गर्ने होरु भन्ने पाटोलाई हामीले चटक्कै बिर्सेको स्थिति रहेछ’, उहाँले भन्नुभयो । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले थप्नुभयो, ‘स्रोतबिना कुनै पनि विषयको कार्यान्वयन सम्भव छैन। स्रोतबिना समाजवाद लागु हुन सम्भव छैन। स्रोतबिना हामीले जति नागरिक पक्षमा कुरा गरेका छौँ, यी सबै कुरा उपलब्ध हुन सम्भव छैन। त्यसैले राजनीतिक विचारले विचार मात्रै ल्यायो कार्यन्वयन गर्ने स्रोत ल्याउन सकेन।’

समस्या समाधानका निम्ति निश्चित स्रोतको आधार तय हुनुपर्ने उहाँले  बताउनुभयो ।। नेपाली कांग्रेस पुँजीको बाटोमा नभएर समाजवादमा जान चाहने पार्टी भएको उहाँले सुनाउनुभयो। आफूले सय दिन मन्त्रालयबारेमा बुझ्नै लागेकाले अब परिणाममुखी काम गर्ने उहाँले दाबी गर्नुभयो। ‘मलाई बुझ्नुपर्ने केही पनि छैन। त्यसो भनेर सबै जानेको छु मैले भनेको होइन। तर, कामहरु अगाडि बढाउदा आधारभूत विषयहरुलाई हामीले बुझेर योजनाहरु बनाइसकेका छौँ’, उहाँले भन्नुभयो, ‘योजना शुत्रबद्ध ढंगबाट प्रस्तुत गरिसकेका छौँ। अब त्यसलाई कार्यान्वयन लिएर जानका निम्ति हामीले धमाधम काम गरिरहेका छौँ। जुन एक सय दिनमा कामहरु गर्‍यौँ। त्यो कामहरु धेरै लागत लाग्ने कामहरु होइनन्।’

एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहेको मन्त्री पौडेलले बताउनुभयो। त्यसका निम्ति आफूले बुझ्ने कोशिस गरिरहेको उहाँले उल्लेख गर्नुभयो। अबको सय दिनमा देखिने गरेर काम गर्न सक्षम भएको उहाँको जिकिर छ। ‘पहिलो सय दिन बुझ्ने कोशिष गर्नै लाग्यो। म स्वास्थ्य क्षेत्रको प्राविधिक थिइन। हुटहुटी थियो, छ’, पौडेलको प्रतिबद्धता छ, ‘तर त्यो हुटहुटीलाई पूरा गर्नका निम्ति प्राविधिक पक्षलाई पनि राम्रोसँग बुझ्नुपर्ने हुन्छ। गएको सय दिन नढाँटी भन्दा बुझेकाहरुसँग जान्ने कोशिस गरेँ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू