अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 16:15

पार्टी पंक्तिलाई उपनिर्वाचनमा केन्द्रित हुन एमालेको निर्देशन

बिआरटीनेपाल २०८१ कार्तिक २४ गते ५:४८ मा प्रकाशित

शनिबार बसेको नेकपा (एमाले) को सचिवालय बैठकले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।बैठकले निर्वाचनका लागि सिफारिस भएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको छ । निर्णय भएर आएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने काम गरेको र सिंगो पार्टी पंक्तिलाई निर्वाचनमा एमालेको विजयका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

स्थानीय तह उपनिर्वाचनमा सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताउँदै उपमहासचिव ज्ञवालीले निर्वाचनमा स्थानीय आवश्यकताका आधारमा राजनीतिक दलहरूसँग सहकार्य हुनसक्ने बताउनुभयो ।उपमहासचिव ज्ञवालीले बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका नयाँ घटनाक्रम र त्यसले नेपालमा पार्ने अनुकूलता र चुनौतिका विषयमा पनि समीक्षा भएको बताउनुभयो । उहाँले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग सन्तुलित, असल र राष्ट्रिय हितको सम्बन्धलाई अघि बढाउन सरकारलाई बैठकले सुझाव दिएको पनि ज्ञवालीले बताउनुभयो ।

बैठकले सरकारको चार महिने कार्यकालको समीक्षा गर्दै सरकारको कामलाई अझ प्रभावकारी बनाउन बनेको दुई दलीय संयन्त्रको बारेमा पनि छलफल गरेको छ ।यस्तै बैठकले कोशी प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीलाई पार्टीको प्रदेश कमिटीले गरेको कारवाहीलाई अनुमोदन गरेको छ । उहाँमाथि हुने छानबिनमा पार्टीले पूर्ण सहयोग गर्ने निर्णय पनि बैठकले गरेको ज्ञवालीले जानकारी दिनुभयो । यसैगरि बैठकले मंसिर ७ गते पार्टीका काठमाडौ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरण सभालाई प्रभाकारी बनाउने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू