अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 11:15

आप्रवासी फर्काउने योजना कार्यान्वयन गर्छु : अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्प

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ५:४८ मा प्रकाशित

अमेरिकामा हालै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो सङ्ख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनाको कार्यान्वयन प्रथामिकतामा रहने बताउनुभएको छ । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो अन्तर्वार्तामा ट्रम्पले जुनसुकै मूल्य चुक्ता गर्नुपरे पनि ठूलो मात्रामा निर्वासनको योजना अगाडि बढाउने बताउनुभएको हो ।एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा उहाँले सीमा बलियो र शक्तिशाली बनाउँदै आप्रवासी फर्काउन पहिलो प्राथमिकता दिने बताउनुभएको हो । चुनावपछि उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति जो बाइडेनसँग भएका टेलिफोन संवादहरू दुईतर्फी रूपमै सम्मानजनक भएको उहाँले बताउनुभयो ।

यस्तै ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने सङ्केत पनि गर्नुभएको छ । अहिलेसम्म विश्वका झन्डै ७० जना नेतासँग कुराकानी गरिसकेको उल्लेख गर्दै उहाँले पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताउनुभएको हो । ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग राम्रो संवाद भएको बताउनुभयो ।यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ट्रम्पलाई बधाई दिनुभएको छ । अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै कतिपयले युक्रेन–रुस युद्ध रोकिन सक्ने बताएका छन् । चुनावी प्रचारप्रसारका क्रममा ट्रम्प आफैँले पनि आफू राष्ट्रपति भए एकदिनमै युद्ध रोक्ने दाबी गर्नुभएको थियो । ट्रम्पले आउँदो जनवरी २० तारिखमा दोस्रो कार्यकालका रूपमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू