अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 20:57

मितेरी सहकारीको रकम अपचलन: गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ५:१३ मा प्रकाशित

मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति बहादुर भण्डारीविरुद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको छ । ज्योति गुरुङ नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङकी पूर्वपत्नी हुन् । गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का प्रवक्ता एसपी होविन्द्र बोगटीले बताउनुभयो । उहाँले भन्नुभयोने, ‘उहाँहरुविरुद्ध रेड नोटिस जारी भएको छ ।’

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गरेर उनीहरुविरुद्ध नोटिस जारी गर्न नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो । मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीमा) जाहेरी दिएका थिए ।

गुरुङ र बर्दिया घर भएका ज्योति भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ । उनले ज्योति गुरुङबाट पनि रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरु बताउँछन् । सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । सो सहकारीबाट उनीहरुले १२ करोड ५१ लाख अपचलन गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू