अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 18:15

आजदेखि त्रिभूवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

बिआरटीनेपाल २०८१ कार्तिक २३ गते ४:४८ मा प्रकाशित

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।विमानस्थलको स्तरोन्नति गर्नका लागि झण्डै पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको हो ।विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिव ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो ।प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी–वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्ने भएको छ । विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो कामहरु सम्पन्न गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ ।

स्तरोन्नतिका काम भइरहँदा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । धावनमार्गसँगै समानान्तर हुने गरी ट्याक्सी वे बनाउन लागिएकाले उडान सुरक्षामा असर नपरोस् भनेर उडान बन्द गरिएको आयोजनाले जनाएको छ । समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्नेछ भने विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीको भनाइ छ । प्राधिकरणले सो स्तरोन्नतिको कामले वाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू