अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 20:58

स्थानिय तह उपनिर्वाचन : दलहरु तयारीमा

बिआरटीनेपाल २०८१ कार्तिक २२ गते ६:०५ मा प्रकाशित

स्थानीय तहको उपनिर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार तोक्ने दौडमा जुटेका छन् । आगामी मंसीर १६ गते विभिन्न स्थानीय तहका ४४ रिक्त पदमा उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा माओवादीसँग गठबन्धन सरकारमा रहेको काँग्रेस अहिले एमालेसँग गठबन्धन गरेर सरकारमा छ भने उति बेला गठबन्धन सरकारमा रहेको माओवादी केन्द्र प्रतिपक्षमा छ । तर यो उपनिर्वाचनमा भने कुनै पनि दलले गठबन्धन नगर्ने भएका छन् । स्थानीय तहको उपनिर्वाचन नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिकाका अध्यक्ष २, उपाध्यक्ष ४, जिल्ला समन्वय समितिका प्रमुख २ तथा ३४ वडाध्यक्षका लागि हुन लागेको हो । विभिन्न स्थानीय तहमा अहिले रिक्त, ४४ पदमध्ये अधिकांशमा नेपाली काँग्रेसले जितेको थियो । १ नगर प्रमुख, १ उपप्रमुख, २ गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित २४ पदमा काँग्रेसबाट निर्वाचित भएका थिए । यस्तै नेकपा एमालेबाट ८, माओवादी केन्द्रबाट ८, जसपाबाट १ र स्वतन्त्र उम्मेदवार १ जना निर्वाचित भएका थिए ।

कोशी प्रदेशमा १ गाउँपालिका प्रमुख, १ जिल्ला समन्वय समिति प्रमुख सहित ७ वडा अध्यक्ष गरि ९ पदका लागि उपनिर्वाचन हुनेछ । यस्तै मधेश प्रदेशमा ७ वडाध्यक्ष, बाग्मती प्रदेशमा एक नगरप्रमुखसहित ७ पदका लागि उपनिर्वाचन हुनेछ । यस्तै गण्डकी प्रदेशमा १, लुम्बिनी प्रदेशमा ६, कर्णली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा जिल्ला समन्वय समितिप्रमुख सहित ७ पदका लागि उपनिर्वाचन हुँदैछ । ओखलढुङ्गाको जिल्ला समन्वय समिति प्रमुख र मोलुङ गाउँपालिका वडा नम्बर ५ को अध्यक्षको उपनिर्वाचन हुनेछ भने मोरङको ग्रामथान गाउँपालिका प्रमुख, उदयपुरको त्रियुगा नगरपालिका १२ र बेलका नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्षमा पनि उपनिर्वाचन हुँदैछ ।

त्यसैगरी ताप्लेजुङको गिरीजंगा गाउँपालिका वडा नम्बर ३, झापाको कन्काइ नगरपालिका वडा नम्बर ६, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८, सुनसरीको गढी गाउँपालिका वडानम्बर ६ को वडाध्यक्षमा निर्वाचन हुँदैछ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २, रौतहटका इशनाथ नगरपालिका वडा नम्बर ७, राजपुर नगरपालिका वडा नम्बर ६ र गढीमाई नगरपालिका ८ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।

यस्तै बाग्मती प्रदेशमा काठमाडौंको कीर्तिपुर नगरप्रमुखसहित वडा नम्बर १ र ४ वडामा निर्वाचन हुँदैछ भने दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचन हुँदैछ । यस्तै नुवाकोटको ककनी २ र मकवानपुरको हेटौंडा उपमहानगरको १२ नम्बर वडामा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । गण्डकी प्रदेशमा भने गोरखाको गोरखा नगरपालिकाको वडा नम्बर ५ को अध्यक्षका लागि निर्वाचन हुँदैछ । यस्तै लुम्बिनी प्रदेशमा गुल्मीको मुसिकोट नगरपालिका १, रोल्पाको रुन्टीगढी गाउँपालिका ४, बर्दियाको ठाकुरबाबा नगरपालिका ४, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका २ र कपिलवस्तुको शुद्धोदन गाउँपालिका १ को वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । कर्णाली प्रदेशमा दैलेखको महाबु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिका १३ का वडाध्यक्ष, कालिकोटको तिलागुफा नगरपालिका ४ को अध्यक्षमा उपनिर्वाचन हुँदैछ ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख र कुसे गाउँपालिका र ७ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष र रुकुमपश्चिमको सानीभेरी नगरपालिका ५ को अध्यक्ष पदका लागि पनि निर्वाचन हुदैछ । यसैगरि सुदुरपश्चिम प्रदेशमा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिकाको ४ को अध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका ६ का अध्यक्ष, दार्चुलाको दुहु गाउँपालिका ५ को अध्यक्ष, कैलालीको जिल्ला समन्वय समिति प्रमुख र कञ्चनपुरको भीमदत्त नगरपालिका ६ को वडा अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको लागि समय निर्धारण गरेको छ । उम्मेदवारी दर्ताको समय नजिकिएसँगै उम्मेदवार छनोटका लागि राजनीतिक दलहरुको रस्साकस्सी शुरु भएको छ । नेकपा एमालेले कतिपय उम्मेदवार टुङ्गो लगाइसकेको छ भने रास्वाले प्राइमरी इलेक्सन मार्फत उम्मेदवार छनोट गर्ने भएको छ । अघिल्लो निर्वाचनमा काँग्रेस, माओवादी, एकीकृत समाजवादी लगायतका दलहरुबीच कतिपय स्थानमा चुनावी तालमेल भएपनि अहिले ३ प्रमुख दल नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी एक्लाएक्लै चुनाव लड्ने तयारीमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू