अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 18:26

मनाङे आत्मसमर्पणको मनस्थितिमा, प्रहरी पक्राउको तयारीमा

बिआरटीनेपाल २०८१ कार्तिक २२ गते ५:५० मा प्रकाशित

ज्यान मुद्दामा पाँच वर्ष कैद तोकिएका गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)प्रहरीसमक्ष आत्मसमर्पण गर्ने मनस्थितिमा रहेका छन् । प्रहरी भने आत्मसमर्पणपूर्व नै पक्राउ गर्ने तयारीमा जुटेको छ । उच्च अदालत पाटनले २०७४ सालमा पाँच वर्ष कैद गर्ने फैसला सुनाएपछि पक्राउ परेका मनाङेले निर्णय बदर तथा थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्षको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका थिए ।

त्यसअनुसार सर्वोच्चले उनलाई थुनाबाहिर रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा दियो । तर, सर्वोच्चले मंगलबार सोही निवेदनमाथि अन्तिम सुनुवाई गर्ने क्रममा उच्च अदालतको आदेश सदर गरेको थियो । मनाङे मुख्य योजनाकार रही २०६१ वैशाख २१ गते चक्रे मिलन नामले चिनिने गुण्डानाइके मिलन गुरुङमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनापछि गुरुङपत्नी इन्दिराले दिएको जाहेरीका आधारमा उनीमाथि कुटपिटको मुद्दा चल्यो । सोही मुद्दा २० वर्षदेखि चल्दै आएको हो ।

पहिला कुटपिटको महलमा चलेको उक्त मुद्दामा मनाङे पहिलोपटक २४ र अर्कोपटक ८ महिना थुनामा रहिसकेका छन् । पछि सोही घटनलाई ज्यान मार्ने उद्योगका रुपमा उच्च अदालतले स्वीकार गरेपछि पाँच वर्ष कैद तोकिएको थियो । अब मनाङेले कानुनतः २८ महिनाको कैद मुक्तान गर्न बाँकी छ ।

सर्वोच्चले उच्च अदालतको आदेश सदर गर्दै पाँच वर्ष कैद हुने भएपछि मनाङे मंगलबार उच्च अदालत परिसरबाटै ‘फरार’ छन् । अहिलेसम्म पनि सार्वजनिक सम्पर्कमा नरहेका उनलाई आत्मसमर्पण गर्नुपर्ने सुझाव उनीनिकटस्थ कानुन व्यवसायीले दिएका छन् । शुरुदेखि नै यो मुद्दामा मनाङेको तर्फबाट संलग्न रहँदै आएका कानुन व्यवसायी गणेश केसीले आत्मसमर्पण गर्नु वा प्रहरीको गिरफ्तारी पर्खिनुबाहेक अर्को बाटो नभएको बताउनुभयो । मंगलबारको बहसमा मनाङेको तर्फबाट भाग लिएका अर्का कानुन व्यवसायी दीपकमणि निरौलाले उनी आत्मसमर्पणको मनस्थितिमा रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू