अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 17:30

मानव तस्करीमा जोडिएर कोशी प्रदेशको मन्त्रीबाट राजीनामा दिएका अधिकारीमाथि थप अनुसन्धान भएन

बिआरटीनेपाल २०८१ कार्तिक २२ गते ५:३० मा प्रकाशित

मानव तस्करीमा जोडिएका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री तथा एमालेका सांसद लीलावल्लभ अधिकारीमाथि अनुसन्धान शुरू नभएको भन्दै आलोचना भइरहेको छ ।मन्त्री अधिकारीसँगै जोडिएका ६ जनालाई पक्राउ गरेर अनुसन्धान भए पनि उहाँमाथि अनुसन्धान नभएको भन्दै आलोचना भइरहेको हो । मुख्यमन्त्री र सङ्घीय सरकारसँग अनुमति नै नलिई जापान उडेका मन्त्री अधिकारी र खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानको अध्यागमन कार्यालयले ४८ घण्टा विमानस्थलमा राखेर नेपाल डिपोर्ट गरेपछि मानव तस्करीको जालोमा मन्त्री पनि संलग्न रहेको हुनसक्ने खुलेको हो ।

अधिकारीले पदको मात्र दुरुपयोग नगरी मन्त्रालयकै कार्ड बनाएर शेर्पा, राई र देवकोटालाई जापान पुर्‍याएको आरोप लागेको छ । जापानको अध्यागमनले डिपोर्ट गरेका तीनै जना र तीन जनाको बयानका आधारमा प्रहरीले अरू तीन जनालाई पनि पक्राउ गरेको छ । तर मन्त्री लीलावल्लभ अधिकारी भने राजीनामा दिएर उम्किनुभएको छ ।डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्री अधिकारीकै हस्ताक्षर रहेको मन्त्रालयको नक्कली परिचय पत्र बरामद गरेको छ । एक जना प्रहरी अधिकारीका अनुसार मन्त्रीकै हस्ताक्षर भएको कार्ड भेटिनुले मन्त्री पनि यो प्रकरणमा संलग्न रहेको अनुमान गर्न गाह्रो छैन तर पहुँचका आधारमा भेदभाव हुँदा मन्त्री पक्राउ परेका छैनन् ।

मानव तस्करीमा बहालवाला मन्त्री नै जोडिएपछि यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग छलफल गर्न मुख्यमन्त्री हिक्मत कार्की अहिले काठमाण्डौमा हुनुहुन्छ । यसैबीच नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले निवर्तमान मन्त्री लीलावल्लभ अधिकारीको जापान भ्रमण प्रकरणकाे विषयमा छानबिन गर्न माग गरेको छ । संसदीय दलका सचेतक गीता तिमल्सिनाले विज्ञप्ति निकालेर कूटनीतिक मर्यादाको उल्लङ्घन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिङ्गो प्रदेशवासीको शिर निहुरिएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू