अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 18:35

५० ओभरकाे क्रिकेट अझै धेरै खेल्नुपर्ने देखियाे : कप्तान राेहित

बिआरटीनेपाल २०८१ कार्तिक २२ गते ५:२० मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरकाे एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर टिक्न नसकेको उल्लेख गर्दै यस फर्म्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन् ।आईसीसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत क्यानडा र अमेरिकामा भएकाे त्रिदेशीय शृङ्खला सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीय क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग सम्हालिन नसकेको बताए । एकदिवसीय फर्म्याटमा धेरै क्रिकेट खेल्दा ब्याटर परिपक्व हुने उनकाे भनाइ छ ।

लिग–टुमा हारका बाबजुद टाेलीलाई सकारात्मक रूपमा अगाडि बढाउन सबै सदस्यले सुधार गरिरहेका कप्तान राेहितले उल्लेख गरे । अमेरिका र क्यानडा भ्रमणमा आशा गरेजस्तो नतिजा नआए पनि टोलीमा एकता रहेकाे उनले बताए । लिग–टुकाे तीन वटा शृङ्खलामा राम्रो नतिजा नआएपछि आउँदा खेलमा चुनौती हुने कप्तान राेहितकाे भनाइ छ । नेपाली क्रिकेट टोलीका ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा गरे ।

लिग–२ को दुई वटा शृङ्खलाको आठ वटा खेलमा नेपालले जम्मा चार अङ्क जोड्न सक्यो । लिग–२ मा अहिलेसम्म १२ खेल खेलेकाे नेपाल ६ अङ्कसहित पुछारबाट दाेस्राे स्थानमा छ । १२ खेलमा १६ अङ्क जाेडेकाे अमेरिका शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू