अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२१ | Colorodo: 17:36

विपक्षी दलहरुसँग उपचुनाव लड्ने एकीकृत समाजवादीको तयारी

बिआरटीनेपाल २०८१ कार्तिक २२ गते ५:१३ मा प्रकाशित

मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन गर्ने तयारी गरेको छ । चुनावमा एक्लै लड्ने भने पनि हाल सरकारमा रहेका काँग्रेस र एमालेबाहेकका विपक्षी दलहरुसँग गठबन्धन गर्ने तयारी गरेको हो ।आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ । स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिसस प्रमुख गरी ४४ पदमा निर्वाचन हुन लागेको हो । उपमहासचिव रामकुमार भट्टराईले पार्टी अहिले उम्मेदवार चयन प्रक्रियामा रहेको बताउनुभयो । उहाँले सम्भव भएको स्थानमा एक्लै चुनाव लड्ने र आवश्यकता अनुसार सरकार विपक्षीसँग तालमेल पनि हुनसक्ने बताउनुभयो ।

उपमहासचिव भट्टराईले चुनावी गठबन्धनका लागि समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव पक्षको नेसपा)मा भएका दलहरुलाई पहिलो प्राथमितामा राखिएको बताउनुभयो ।उहाँले सत्तामा भएका काँग्रेस एमालेसँग चाहिँ सहकार्य नगर्ने पक्षमा भएको पनि बताउनुभयो । साथै उहाँले विपक्षी दलहरुसँग सामान्य छलफल भइरहेको तर ठोस निर्णय चाहिँ भइनसकेको बताउनुभयो । उपनिर्वाचनका लागि नेकपा एसले पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू