अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 10:43

स्पेनको बार्सिलोनामा वर्षाका कारण रेल सेवा अवरुद्ध

बिआरटीनेपाल २०८१ कार्तिक २० गते ५:११ मा प्रकाशित

स्पेनको बार्सिलोनामा ठूलो वर्षा हुँदा रेल सेवा अवरुद्ध भएको छ । स्पेनको पूर्वी भागमा गएको हप्ता आएको बाढीले भ्यालेन्सिया नजिक दुई सय जनाभन्दा धेरै मानिसको ज्यान गएको थियो । त्यसपछि पनि निरन्तर आइरहेको पानी र आँधीका कारण बार्सिलोनामा रेल सेवा अवरुद्ध भएको हो ।स्पेनी यातायातमन्त्री ओस्कार पुएन्टेले नागरिक सुरक्षा अधिकारीहरूको अनुरोधमा उत्तरपूर्वी क्याटालोनियाको ८० लाख जनसङ्ख्या भएको क्षेत्रमा सबै यात्रुवाहक रेल सेवा स्थगित गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

बार्सिलोनाका मोबाइल फोनहरूमा शहरको दक्षिणी सीमामा ‘अत्यधिक र निरन्तर वर्षा’ को चेतावनीसहितको सूचना गएको थियो । चेतावनीमा मानिसहरूलाई सामान्यतया सुक्खा खोँच वा नहरबाट टाढा रहन आग्रह गरिएको थियो । वर्षाका कारण हवाई यातायात नियन्त्रकहरूले बार्सिलोनाको विमानस्थलमा सञ्चालन भइरहेका १५ उडानको मार्ग परिवर्तन गर्नुपरेको खबरमा उल्लेख छ । बाढीका कारण धेरै राजमार्ग बन्द छन् ।

यसैबीच भ्यालेन्सियामा अझै पनि भत्किएका र क्षतिग्रस्त संरचना पन्छाएर शवहरूको खोजी भइरहेको छ । नागरिक, स्वयंसेवक र हजारौं सैनिक तथा प्रहरी अधिकारीले हिलो र भग्नावशेष सफा गर्न भन्दै अभियान नै सञ्चालन गरेर सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू