अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 17:19

पोखरामा हावाहुरीसहित परेको असिनापानीले धानबालीमा क्षति

बिआरटीनेपाल २०८१ कार्तिक १९ गते १९:२६ मा प्रकाशित

पोखरामा हावाहुरीसहित परेको असिना पानीले धानबालीमा क्षति गरेको छ । हिजो दिउँसो हावाहुरी र पानीसँगै परेको असिनाले भित्राउने बेलाको धान झारेको किसानले बताएका छन् । असिनाले काटेर राखेको धानबालीमा पनि नोक्सानी गरेको छ ।

त्यस्तै देशका अरु ठाउँमा पनि धानबालीमा केही असर पुगेको छ । भक्तपुरका किसानले लगाएको धान पानीका कारण ढलेको छ । यसपालि मनसुनले साथ दिएकाले धानको उत्पादन बढ्ने अनुमान थियो तर, बाली भित्राउने बेला परेको असिनापानीले कतै कतै क्षति गरेको छ ।

यस्तै असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले पनि धानबालीमा नोक्सानी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अहिलेको वर्षा र अघिल्लो महिनाको अविरल वर्षापछि बाढी/पहिरोले धानबालीलाई केही क्षति पुर्‍याएको तर यसवर्ष धानको उत्पादन अवस्था कस्तो हुन्छ भनेर विश्लेषण गर्ने काम भइरहेको जनाएको छ ।

मन्त्रालयले मनसुनजन्य विपद्का कारण धान खेतीमा भएको क्षतिसम्बन्धी विस्तृत आँकलन निकाल्न प्रादेशिक गोष्ठी गर्ने तयारीसमेत गरेको कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै प्रदेशबाट सङ्कलित तथ्याङ्कलाई समेटेर क्षतिको यकिन तथ्याङ्क निकाल्न लागिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू