अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 18:10

छठले डोम समुदायमा ल्याउने खुशी

बिआरटीनेपाल २०८१ कार्तिक १८ गते १९:५१ मा प्रकाशित

हुन त पछिल्लो समय विश्वव्यापीकरणको प्रभाव, खुला समाज र काम गर्नेहरूका लागि अवसरका ढोकासमेत खुल्दै गएका छन्, त्यसबाट यस समुदायका व्यक्ति पनि प्रभावित छन् नै तर त्यो अवसर सबैसम्म पुग्न सकेको छैन। क्षीरेश्वरनाथ नगरपालिका-६ सखुवाबजार नयाँटोलका झल्कु मल्लिक छठज्ता चाडपर्वका बेला भने आफूहरूको सिपले महत्त्व पाउने बताउँनुहुन्छ ।

छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन डोम समुदायलाई अचेल भ्याइ नभ्याई रहेको मल्लिकको भनाइ छ। ‘सधैँ के खाने, के लाउने भन्ने चिन्ता हुन्छ तर चाडबाड, त्यसमा पनि छठ हाम्रा लागि खुशी बोकेर आउँछ। चुल्हो बल्छ, बालबालिकाका सामान्य आवश्यकता पूरा गरिदिँदा मुहारमा हाँसो आउँछ, हाम्रो मनमा उल्लास’, उहाले हँसिलो मुद्रामा भन्नुभयो। ​दीपावलीलगत्तै आउने छठ पर्वलाई लक्षित गरी धनुषाका डोम समुदाय बाँसजन्य पूजाका सामग्री बनाउन व्यस्त हुन्छ।

तराईवासी हिन्दु धर्मावलम्बीको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त छन्। यतिबेला उनीहरूले यही सामग्री बेचेर राम्रो आम्दानी गरिरहेका छन्। धनुषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसङ्ख्या रहेकामा तीमध्ये करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठमा बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्ने जानकार बताउँछन्।

छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतका नयाँ भाँडाकुँडाले पर्व मनाउनुपर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्ने गरेको जनकपुरधाम उपमहानगरपालिका- १ स्थित धर्मवान् टोलका श्याम मल्लिक डोमले सुनाउनुभयो ।

सोही टोलकी रीता मल्लिकले गाँस, बास र कपासकै जोरजाममा अल्झिनुपर्ने बाध्यताका बिच आउने छठ पर्वले कात्तिक महिनाभर दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने अवसरसमेत ल्याउने गरेको बताउनुभयो । ‘अरू बेला त फेरि उही समस्या हुन्छ तर एकाध महिना भए पनि कामका लागि भौँतारिनु पर्दैन। काम भएपछि दाम र माम त हुने नै भयो’, उहाले खुशी हुँदै भन्नुभयो ।

महोत्तरीको औरही नगरपालिका- १ का इन्दल मल्लिक डोमले कात्तिक लाग्नासाथ घरका बच्चादेखि बुढापाकासम्मले काम पाउने गरेको र बिहानदेखि बेलुकासम्म व्यस्त हुने गरेको सुनाउनुहुन्छ। राम्रो आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको उहाको भनाइ छ।

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँचरसात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ। महोत्तरीको भङ्गहा नगरपालिकाका सुखारी डोम घरका बालकदेखि बुढापाकाले डालो, नाङ्लो बेचेर प्रतिव्यक्ति १० देखि २० हजार र प्रत्येक परिवारले सरदर दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँनुहुन्छ ।

मिथिला नगरपालिका-७ का ५५ वर्षीय राजवीर डोमले चाडपर्व आफूहरूका लागि पिर बिसाउने अवसरसमेत भएको बताउनुभयो । सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले गाउँ, शहरमा हुने भोजभतेरमा बचेखुचेको ल्याएर सपरिवार खाने गरेका डोम समुदायका विपन्न नागरिकले छठमा आफैँ मीठामसिनो परिकार पकाएर खाने गरेको सुनाउनुभयो ।

छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको अनुभूति हुने स्थानीय ६० वर्षीय बुधवा डोमको भनाइ छ। मिठोमसिनो खाने मात्रै होइन महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर वर्षभरिकै सबै कर्जा चुक्ता गर्ने र केही महिनासम्मको खर्च जोहो योजना रहेको सुनाउनुभयो ।

हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्‍याउन डोम समुदायका व्यक्ति निकै व्यस्त देखिन्छन्। तराईमा मात्रै नभई देशको राजधानी काठमाडौंसहित पोखरा, हेटौँडालगायत पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था छ। यसलाई व्यवस्थित गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने सरोकारवाला बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू