अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:११ | Colorodo: 03:26

साफ महिला च्याम्पियनसिप-२०२४: फाइनलमा हार्‍यो नेपाल, बंगलादेश लगातार दोस्रोपटक च्याम्पियन

बिआरटीनेपाल २०८१ कार्तिक १४ गते ८:४७ मा प्रकाशित

फाइनलमा नेपाललाई २-१ ले पराजित गर्दै साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि बङ्लादेशले जितेको छ । बङ्लादेशले लगातार दोस्रो पटक साफको उपाधि जितेको हो । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बङ्लादेशलाई जित दिलाउन मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गरिन् । नेपालकी अमिशा कार्कीले गोल फर्काए पनि नेपालको हार टार्न सकिनन् । तीनै गोल दोस्रो हाफमा भएको हो ।

खेलको ५२औं मिनेटमा मोनिका चक्माले गोल गर्दै बङ्लादेशलाई अग्रतामा राखेकी थिइन् । कप्तान सविना खातुनले नेपाली रक्षकबाट भएको गल्तिको फाइदा उठाउदै निकालेको बललाई नियन्त्रणमा लिदै मोनिकाले गोल गरेकी थिईन् । तर नेपालले चार मिनेटमै गोल फर्कायो । नेपालकी अमिशा कार्कीले गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी हुन् । प्रीति राईले निकालेको थ्रु बललाई नियन्त्रणमा लिदै अमिशाले सहजै गोल गरिन् ।

८१औं मिनेटमा रितु पोर्ना चक्माले गोल गर्दै बङ्लादेशलाई २-१ को अग्रतामा राखिन् । करिब २५ यार्ड परबाट रितुले उत्कृष्ट गोल गरेकी हुन् । यहि गोल निर्णायक बन्दा बङ्लादेश च्याम्पियन बनेको हो । यसअघि सन् २०२२ को संस्करणमा नेपाललाई बाङ्लादेशले ३-१ ले हराएको थियो । नेपाली महिला टिमले हारेको यो १२औं फाइनल हो । साफम मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौं पटक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू