प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरु फस्टाउन नदिइने बताउनुभएको छ ।मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभुत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरु नेपाली मनलाई विभाजित गर्न खोजेका बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरुमार्फत नेपाली मनलाई विभाजित गर्न कोसिस भएको भन्दै त्यसलाई सफल हुन नदिने बताउनुभयो । उहाँले संविधान र कानुन विपरित असामाजिक र अराजनीतिक क्रियाकलापहरु गर्ने प्रयास भइरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यस्ता क्रियाकलापहरुलाई मौलाउन नदिने स्पष्ट पार्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको कानुन सुधारका लागि सरकार दत्तचित्त भएर लागेको बताउनुभयो । उहाँले सो कानून संसदको आगामी अधिवेशनमा अगाडि बढाइने बताउनुभयो । प्रधानमन्त्री ओलीले नयाँ कानूनमार्फत सशस्त्र प्रहरी बल नेपालको ३० वर्षे सेवा अवधि हटाइने पनि बताउनुभयो ।