सरकारले समस्याग्रस्त सहकारी संस्थाका वचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ ।भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार अपरान्ह पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले एक लाख भन्दा कम बचत भएकाहरुको पूरै चुक्ता गरिएको र सो भन्दा बढी भएका ४३८ जनालाई पनि दामासाहीले राहत दिने काम गरिएको स्पष्ट पार्नुभयो ।
सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत सरकारले वचतकर्ताको रकम फिर्ता गर्ने काम गरेको हो । मन्त्री अधिकारीले मागदाबी गर्ने वचतकर्ताहरुको संख्या ६ हजार ५९३ जनाको रकम चुक्ता गरिएको बताउनुभयो ।सरकारी तथ्यांकअनुसार मागदावी गर्ने वचतकर्ता ६२ हजार ७६० रहेका छन् । उनीहरुमध्ये ६५९३ जनाको वचत रकम फिर्ता गरिएको छ । अब बाँकि ५६ हजार ६०५ जनाको वचत रकम सम्बन्धित सहकारीको पूँजी, भौतिक सम्पती, लगानी गरेको ऋण असुलीको माध्यामबाट फिर्ता गराईने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्री अधिकारीले सम्बन्धित सहकारीबाटै ती रकमहरु असुलगरी बचतकर्तालाई दिने गरी काम अघि बढाइएको पनि बताउनुभयो । मन्त्री अधिकारीले सहकारीका दोषी सबैलाई कारबाहीको दायरामा ल्याउने गरी सरकारले सहकारी सम्बन्धि ऐन संशोधन गर्न लागिएको पनि दोहोर्याउनुभयो ।