अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१५ | Colorodo: 16:30

काठमाण्डाैमा ‘एआई’ सम्मेलन शुरू

बिआरटीनेपाल २०८१ कार्तिक ११ गते ४:४५ मा प्रकाशित

काठमाण्डौमा अन्तर्राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्मेलन शुरू भएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा दुई दिने सम्मेलन शुरू भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उद्घाटन गर्नुभएको छ । उहाँले सरकार ‘एआई’ सम्बन्धी राष्ट्रिय नीति बनाएर अघि बढ्ने तयारीमा रहेको भन्दै ‘एआई’ सँगै अन्य सूचना प्रविधिलाई विकास, विस्तार र व्यवस्थापन गर्न सरकार निजी क्षेत्र र नागरिक समाजबीच समन्वय र समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले ‘एआई’ विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताउनुभयो ।

सम्मेलनमा ‘एआई’ सँग सम्बन्धित विभिन्न १० वटा शीर्षकमा छलफल हुनेछ । यस्तै नेपालमा ‘एआई’ को आधारस्तम्भ निर्माणको अवसर, चुनौती र रणनीतिक बाटो विषयमा अनुसन्धानपत्र प्रस्तुतीकरण गरिने युवा सङ्घ नेपालले जनाएको छ । विश्व बजारमा अहिले भइरहेको ‘एआई’ को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन सम्मेलन आयोजना गरिएको सङ्घले जानकारी दिएको छ ।

सम्मेलनमा फ्युज मेसिन्सका समीर मास्के, ईयू रोबोटिक्सका जुहा रोनिङ, युनिभर्सिटी अफ हङकङ रोबोटिक्स सिस्टमका प्राध्यापक काजुहिरो कोसुजे, खलिफा विश्वविद्यालयका प्राध्यापक जर्ज म्यानुअल मिरान्ता डियास लगायतले धारणा राख्नेछन् । यस्तै गगन थापा, गिरिराजमणि पोखरेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताहरूले पनि ‘एआई’ को विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू