अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

माओवादीको खबरदारी जुलुस

बिआरटीनेपाल २०८१ कार्तिक १० गते ६:२५ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले काठमाडौंमा खबरदारी खबरदारी जुलुस निकालेको छ । बेथिति, भ्रष्टाचार, महंगी र सरकारको जनविरोधी कदमविरुद्ध भन्दै माओवादी केन्द्र वाग्मती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा खबरदारी जुलुस निकालिएको हो । सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत भएको थियो ।

माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन गरेको हो । विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण तथा पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव सिर्जना गर्ने पनि माओवादी केन्द्रले जनाएको छ । सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न खबरदारी गर्नुपरेको माओवादीले जनाएको छ ।

देशलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारीसभा गर्नुपरेको माओवादी केन्द्रले बताएको छ । बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तपिडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारबाहीका लागि दबाब दिने उद्देश्यका साथ खबरदारी सभा गरिएको माओवादीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू