अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१० | Colorodo: 15:25

इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भनाइ

बिआरटीनेपाल २०८१ कार्तिक ९ गते २३:४६ मा प्रकाशित

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रोकिएको इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने बताउनुभएको छ ।मध्यपूर्वमा भइरहेको द्वन्द्वमा युद्धविरामबारे छलफल गर्न लण्डन पुग्नुभएका ब्लिन्केनले मध्यस्थकर्ताहरूले केही दिनमै गाजामा युद्धविरामका लागि रोकिएका वार्ताहरू पुनः शुरु गर्ने प्रयास गरिरहेको बताउनुभएको हो । तर वार्तामा हमासले भाग लिने वा नलिने भन्ने कुरा अझै स्पष्ट छैन ।

हमासका एकजना नेताले यदि इजरायलले शर्तमा सहमति जनायो भने यो युद्ध रोक्न तयार रहेको बताएका बीबीसीले जनाएको छ । अमेरिकी आग्रहपछि इजरायली गुप्तचर संस्था मोसादका प्रमुख डेभिड बार्निया कतारको दोहा पुग्नुभएको छ । तर इजरायलले हमासका दुईवटै मुख्य कमाण्डरको हत्या गरेकाले वार्ता कसरी अघि बढ्छ भन्ने टुङ्गो छैन ।

नेताहरुको हत्यापछि कमजोर अवस्थामा पुगेको हमासले अब वार्ता नै चाहेको विश्लेषकहरुले बताउन थालेका छन् । अमेरिकाले यसअघि पटक पटक इजरायललाई युद्धविरामको दबाब दिए पनि इजरायलले टेरेको छैन । बीबीसी हिन्दीको विश्लेषणअनुसार अमेरिकाले आफ्ना नागरिकलाई मध्यपूर्वमा अझै पनि आफ्नो प्रभुत्व रहेको देखाउन चाहेको छ । अर्कोतिर यदि अमेरिका मध्यपूर्वमा असफल भएमा चीन वा रुसले यो क्षेत्रमा प्रभुत्व जमाउन सक्ने डरले पनि अमेरिका अब युद्ध रोक्ने दबाबमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू