अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

आन्तरिक अन्तशुल्क र भ्याटमा देखियो सुधार, ब्याज कर घट्यो

बिआरटीनेपाल २०८१ कार्तिक ४ गते ७:२४ मा प्रकाशित

आन्तरिक उत्पादनको अन्तशुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) संकलन बढेको छ।एकातर्फ समग्र आयात घटिरहेको कारण मागमा कमी आएको विश्‍लेषण गरिएकोमा आन्तरिक उत्पादन तथा आन्तरिक कारोबारमा संकलन हुने भ्याट अन्तशुल्कको वृद्धिदरले भने कारोबार बढेको संकेत गर्छ।गत वर्ष समग्र कर १० प्रतिशतले बढेर पनि आन्तरिक उत्पादनबाट संकलन हुने अन्तशुल्क भने एक प्रतिशतले घटेको थियो। आन्तरिक राजस्व विभागका अधिकारीहरूका अनुसार विभागमा अन्य शीर्षकका करहरू विभिन्न कारणले घटे पनि अन्तशुल्क भने कहिल्यै घटेको थिएन।

आन्तरिक उत्पादनहरूमध्ये विशेष गरी मदिरा र सुर्ती तथा चुरोटमा अन्तशुल्क लगाइने गर्छ। यो वर्ष यस्ता सामग्रीको कारोबार केही बढेको कारण अन्तशुल्कमा सुधार आएको आन्तरिक राजस्व विभागका अधिकारीहरू बताउँछन्।’ गत वर्ष अनपेक्षित रूपमा आन्तरिक अन्तशुल्क घट्यो, यस विषयमा अध्ययन पनि गरिएको थियो, पहिलो कारण त कारोबार नै घट्यो भन्ने भयो, दोस्रो चोरी पैठारी बढी भयो कि भन्ने आशंका पनि गरिएको थियो’, ती अधिकारीले भने, ‘विगतमा जस्तो यो पटक अन्तशुल्कको दर खासै नबढाइए पनि राजस्व बढ्नुले कारोबार बढेको अर्थ लाग्छ’।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म (साउन, भदौ र असोजमा) २६ अर्ब आठ करोड आन्तरिक अन्तशुल्क संकलन भएको छ। असोज महिनामा मात्रै ८ अर्ब ९२ करोड संकलन भएको छ।गत वर्षको यसै अवधिसँग तुलना गर्दा तीन महिनामा उठेको आन्तरिक अन्तशुल्क १६ प्रतिशतले बढी हो भने असोजमा मात्रै उठेको अन्तशुल्क १५ प्रतिशतले बढी हो। गत वर्ष घटे पनि त्यसअघिका वर्षहरूमा औसत रूपमा आन्तरिक अन्तशुल्क २० देखि २५ प्रतिशतले बढ्दै आएको छ।त्यस्तै तीन महिनाको अवधिमा भ्याट संकलन (आयतित वस्तुमा भन्सार विन्दुमा लाग्ने बाहेक) पनि उल्लेख्य बढेको छ।

असोजमा मात्रै २३ प्रतिशतले आन्तरिक भ्याट बढेको र तीन महिनाको अवधिमा भने १९ प्रतिशतले बढेको आन्तरिक राजस्व विभागको तथ्यांक छ।आन्तरिक राजस्व विभाग मार्फत उठाइने अन्तशुल्क र भ्याट दुबै बढ्नुले आन्तरिक उत्पादन तथा कारोबार बढेको संकेत गर्छ। तर, आयातमा भने सुधार आउन सकेको छैन।यता आयकरमा भने १६ प्रतिशतको वृद्धिदर देखिएको छ। आयकर बढ्नुले मानिसहरूको आयमा आएको सुधारलाई संकेत गर्छ। यद्यपि आयकरको वृद्धिदर गत वर्षको यसै समयको भन्दा न्यून देखिएको छ।

गत वर्ष असोज मसान्तसम्म २० प्रतिशतको वृद्धिदर रहेको थियो। यो वर्ष भने ४० अर्ब ५५ करोड पुगेको छ। सरकारले असोज मसान्तसम्म ५२ अर्ब आयकर संकलन हुने लक्ष्य निर्धारण गरेको छ।बहालकर १० प्रतिशतले बढेर ५३ करोड ५१ लाख संकलन भएको छ।तीन महिनाको अवधिमा ब्याजकर भने ७ प्रतिशतले घटेर आठ अर्ब ७१ करोड संकलन भएको छ।पछिल्लो समय लगातार ब्याजदर घटेको कारण ब्याजमा लाग्ने कर संकलन घटेको राजस्वका अधिकारीहरूले बताएका छन्। गत वर्ष असोज महिनामा निक्षेपको औसत ब्याजदर ८ प्रतिशतसम्म रहेकोमा चालु वर्षको भदौ महिनामा घटेर औसत ५।४८ प्रतिशतमा सीमित भएको छ।

यो वर्ष स्वास्थ्य सेवा कर पनि घटेको छ। गत आर्थिक वर्षको तीन महिनाको तुलनामा १८ प्रतिशतले घटेर एक अर्ब ४२ करोड संकलन भएको छ।समग्रमा आन्तरिक राजस्व विभागमार्फत संकलन हुने राजस्व १३.५९ प्रतिशतले बढेको छ। असोज महिनासम्म राखिएको लक्ष्यको तुलनामा भने ८३ प्रतिशत मात्रै संकलन भएको छ।आन्तरिक राजस्व विभागले एक खर्ब ३४ अर्ब रूपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। यो अवधिसम्म एक खर्ब ११ अर्ब रूपैयाँ आन्तरिक राजस्व संकलन भएको छ। साउन महिनामा समग्र राजस्व २० प्रतिशतले बढेकोमा भदौमा १६ प्रतिशतले बढेको थियो। असोज महिनामा आउदा भने १० प्रतिशतले मात्रै बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू