अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

लामिछाने पक्राउ पर्ने चर्चासँगै संसद भवन नयाँ बानेश्वरमा सुरक्षा तैनाथी बढाइयो

बिआरटीनेपाल २०८१ कार्तिक २ गते ०:३२ मा प्रकाशित

पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछाने पक्राउ पर्ने चर्चा संगै  संसद् भवन नयाँ बानेश्वरमा प्रहरी तैनाथी बढाइएको छ।प्रतिपक्षी दलहरूको बैठक चलिरहँदा संसद् भवन नयाँ बानेश्वरमा सुरक्षा तैनाथी बढाइएको हो।

प्रतिपक्षी दलहरूको बैठक शुक्रबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको छ। सोही बैठकमा लामिछाने पनि सहभागी हुनुहुन्थ्यो ।यद्यपि प्रहरीको उच्च स्रोतले लामिछानेको सम्भावित पक्राउबारे केही बताएको छैन। प्रहरीको उच्च स्रोतले यसबारे सम्बद्ध पक्षको कुनै निर्देशन नआएको दाबी गरेको छ।

संसदीय छानबिन समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकहरु सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ।

गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैंअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्। सोही क्रममा लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन पक्राउ गर्ने तयारी गरिएको उच्च राजनीतिक स्रोतले बताएको छ।

गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको एमाले सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू