अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 11:18

सन्देश

गोपीराम भण्डारी 'बटुवा' २०८१ असोज ३० गते १३:४७ मा प्रकाशित

भान्साबाट खाद्य परिकारको बौताे लिएर कलीकुमारी आँगनमा निस्किइन्। निमको बोटमा काँ काँ गरिरहेको कागलाई हेर्दै भनिन् -“आ आ, ल ल ल।”

दहीले भरिएको लोटा हातमा झुन्डाएर घर जाँदै गरेकी छिमेकी सत्यवतीले कलीकुमारीलाई सोधिन्-“पञ्चमीको दिन पनि कागतिहार जस्तै कागलाई के दिइरहेकी ?”

कलीकुमारीले मुस्काउँदै भनिन्-“म त पञ्चमीको व्रत बस्न सकिन । प्राणी पक्षीलाई खाना खुवाएर खाऊँ कि भनेर कागलाई खानेकुरा दिन आँटेकी ! काग नै आउँदैन।”

सत्यवतीले कलीकुमारीलाई भनिन्-“व्रत बस्न नसकी नसकी बस्नु जरुरी छैन तर मन पवित्र र शान्त हुनुपर्थ्यो !”

सत्यवतीको कुरा कलीकुमारीले सुन्दै सुनिनन् । भ्रमको तुवाँलोले कलीकुमारीको कान बुजिएका थिए। उनको ध्यान केवल कागतर्फ थियो। उनी एकोहोरो कागलाई खुवाएर खाने धाउन्नमा कागलाई बोलाइरहेकी थिइन्-“ए कौवा,आइज आ आ खा खा !”

निमको बोटमा काँ काँ गरिरहेको कागले ठाेँड दायाँबायाँ गराउँदै भनिरहेको थियो-“आज भोलिका मानिसका खाद्य परिकार खानयोग्य छैनन्। त्यसैले आज म व्रत बस्छु।” कागको सन्देश सत्यवतीले अनुभूति गरिन्। कलीकुमारीले भाव भाष्य केही बुझिनन् । उनी रिसाएर फन्कँदै कागलाई धारेहात लगाउँदै भनिन्-” खान आ भन्दा पनि मान खोजेर बसिराख्ने मरिजा!”

काग मर्नुको साटो भुर्र उडेर गयो । कलीकुमारी गनगन गर्दै भान्सा प्रवेश गरिन्। सत्यवतीले काग उड्दा बनेको आकाशीय गोरेटोमा नियालिरहिन । सायद…!

**********
सिन्धुपाल्चोक