अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 14:26

धौलागिरी आरोहणमा ज्यान गुमाएका पाँच रुसी आरोहीको शव काठमाडौं लगियो

बिआरटीनेपाल २०८१ असोज ३० गते ७:१२ मा प्रकाशित

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको ११ दिनपछि शव संकलन गरेर आज काठमाडौं लगिएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरूको शव भेटिएको थियो । रुसी पर्वतारोहीको शव हेलिकोप्टरमार्फत काठमाडौं पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

एयर अल्टिच्युडको हेलिकोप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको बताइएको छ ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार ६ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रुसका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकोप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव खराब मौसम र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकोप्टरबाट डोरीमा झुन्डिएर शव भएको ठाउँमा पुगी संकलन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू