अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

साउन र भदाैमा २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे, विदेशी मुद्रा सञ्चिति साढे २१ खर्ब पुग्याे

बिआरटीनेपाल २०८१ असोज २९ गते ६:४५ मा प्रकाशित

चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब ६३ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा दुई खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।राष्ट्र बैंकका अनुसार भदौमा एक खर्ब २६ अर्ब २१ करोड र साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको हो । गएको वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । गएको वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो ।यस्तै दुई महिनामा वैदेशिक रोजगारीका लागि ७६ हजार चार सय ८५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ जना रहेको छ ।अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ७४ हजार चार सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३२ हजार चार जना रहेको थियो ।

यस्तै विदेशी मुद्रा सञ्चिति २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गएको असार समान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको विदेशी मुद्रा सञ्चिति दुई महिनामा एक खर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १६ अर्ब चार करोड पुगेको छ । असार समान्तसम्म विदेशी मुद्रा सञ्चिति १५ अर्ब २७ करोड थियो । यस्तै वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आयात १ दशमलव १ प्रतिशतले बढेको छ भने निर्यात ५ दशमलव १ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू