अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

भुटान भ्रमण निजी थियो – पूर्वराजा ज्ञानेन्द्र

बिआरटीनेपाल २०८१ असोज २६ गते ७:१३ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणका क्रममा आफूलाई गरेको सम्मानलाई सबै नेपालीलाई गरिएको आदरका रूपमा लिएको बताउनुभएको छ । निर्मलनिवासमा शनिबार सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभउको हो ।केही दिनअघि मात्र आफू भुटान गएको र उक्त भ्रमण निजी रहेको उहाँले उल्लेख गर्नुभयो । भुटान भ्रमणका बारेमा सबैको चासो र जिज्ञासा रहेको शाहले बताउनुभयो । “अहिले हालै म भुटान गएको थिएँ । त्यसको अहिले चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो,” उहाँले भन्नुभयो ।

भुटानको राजपरिवार र त्यहाँका जनताले आफूलाई गरेको स्वागत, सम्मान र मित्रतालाई सम्पूर्ण नेपाली र नेपाललाई गरिएको आदरका रूपमा लिएको उनको भनाइ थियो । “त्यहाँका राजपरिवार र भुटानी जनताले मलाई दर्शाएको स्वागत, सम्मान, मित्रता – मैले के ठानेको छु भने, त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु,” उहाँले भन्नुभयो, “तपाईंहरूमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु ।” पूर्वराजा शाहले विजयादशमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू