हमासले आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजापट्टीमा वर्षौँ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको छ । “इजिप्टको राजधानी कायरोमा हमास र फतह आन्दोलनका प्रतिनिधिमण्डलबीच बैठक सुरु भएको छ,” हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
दुवै समूहबीच गाजापट्टीमा आक्रामकताको अन्त्य, राजनीतिक र क्षेत्रीय घटनाक्रम तथा राष्ट्रिय प्रयास र श्रेणीहरूलाई एकताबद्ध गर्नेबारे छलफल गरिरहेको बताइएको छ । हमास र फतह दीर्घकालीन प्रतिद्वन्द्वी हुन् । उनीहरूले सन् २००७ मा छोटो तर रक्तपातपूर्ण युद्ध लडेका थिए ।
फतहले प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउन जारी राखेको छ, जसको इजरायलले कब्जा गरेको वेस्ट बैंकका सहरी क्षेत्रहरूमा सीमित प्रशासनिक नियन्त्रण छ । जुलाईमा हमासले राष्ट्रिय एकताका लागि सँगै काम गर्न फतहलगायत अन्य प्यालेस्टिनी सङ्गठनहरूसँग बेइजिङमा एउटा सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको थियो ।