अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ‘एआई’ सम्बन्धी आविष्कारका लागि २ जनाले संयुक्त रूपमा पाउने

बिआरटीनेपाल २०८१ असोज २२ गते ७:०२ मा प्रकाशित

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि दुई जना वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् । अमेरिकी वैज्ञानिक जोन जे हप्फील्ड र ब्रिटिश क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई भौतिकशास्त्रतर्फको पुरस्कार दिने निर्णय भएको बीबीसीले जनाएको छ ।आर्टिफिसिएल न्यूरल नेटवर्कमार्फत मेशिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा उनीहरूलाई पुरस्कार दिने निर्णय गरेको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ ।

मेशिन लर्निङ भनिने विधि एआईको महत्त्वपूर्ण अङ्ग हो । यसले कम्प्युटरलाई सूचना उत्पादन गर्न सक्ने बनाउँछ । कम्प्युटरमा प्रयोग गर्ने अनेकौं प्रविधिमा, इन्टरनेट सर्चदेखि तस्वीर सम्पादन गर्नसम्म यसको प्रयोग भएको हुन्छ ।हप्फील्ड अमेरिकको प्रिन्स्टन युनिभर्सिटीमा र हिन्टन क्यानडामा रहेको युनिभर्सटी अफ टोरन्टोमा प्राध्यापन गर्नुहुन्छ । उहाँहरूले एक करोड १० लाख स्विडिश क्रोनर र पदक संयुक्त रूपमा पाउनुहुनेछ ।

भौतिकशास्त्रतर्फ अहिलेसम्म दुई सय २४ जनाले नोबेल पुरस्कार पाएका छन् । गएको वर्ष सुक्ष्म कालखण्ड पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि तीन जना भौतिकशास्त्री पुरस्कृत भएका थिए ।पुरस्कार छनाेट समितिले हिजो चिकित्साशास्त्रतर्फको पुरस्कार घोषणा गरेको थियो । नोबेल पुरस्कार समितिका अनुसार भोलि रसायनशास्त्र, पर्सि बिहीवार साहित्य, शुक्रवार शान्ति र आउँदो सोमवार अर्थशास्त्रतर्फ पुरस्कार विजेताको नाम घोषणा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू