अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

पाकिस्तानको कराची विमानस्थल नजिकै विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको ज्यान गयो

बिआरटीनेपाल २०८१ असोज २१ गते ६:१८ मा प्रकाशित

पाकिस्तानको कराचीमा रहेको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा दुई जना चिनियाँ नागरिकले ज्यान गुमाएका छन् । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासले भने गएराति भएको विस्फोटमा अरू धेरै पाकिस्तानी नागरिकले पनि ज्यान गुमाएका र धेरै घाइते भएका जनाएको छ । तर मृतकको सङ्ख्या अझै पनि स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।

घटनास्थल पुगेका एक जना प्रहरी प्रवक्ता गुलाम अजफर महेशरले एउटा इन्धन ट्याङ्करमा पनि आगो लागेको र त्यसले गर्दा नजिकै रहेका गाडीहरू पनि जलेका बताउनुभएको खबरमा उल्लेख छ । एउटा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए) ले आफूले चिनियाँ इन्जिनियर र लगानीकर्ता चढेका गाडी लक्षित आक्रमण गरेको भन्दै घटनाको जिम्मेवारी लिएको छ । उग्रवादी समूहले आज सार्वजनिक गरेको विज्ञप्तिमा कराची विमानस्थलबाट आइरहेको चिनियाँ इन्जिनियर र लगानीकर्ताको गाडीलाई आफूले निशाना बनाएको उल्लेख छ ।

चिनियाँ राजदूतावासले भने सिन्ध प्रान्तमा रहेको एउटा ऊर्जा परियोजनाका इन्जिनियरहरूलाई लक्षित गरी आक्रमण भएको बताएको छ । चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनेरेशन कम्पनी लिमिटेडका इन्जिनियरहरू आक्रमणमा परेका चिनियाँ राजदूतावासले जनाएको छ ।

यो कम्पनीले कराचीको पोर्ट कासिम नजिकै दुई वटा कोइलाबाट चल्ने ऊर्जा केन्द्र बनाइरहेको छ । यो ऊर्जा उत्पादन केन्द्र चीन–पाकिस्तान आर्थिक करिडरको हिस्सा हो । त्यसले पाकिस्तानको बलोचिस्तान प्रान्तमा कैयौं ऊर्जा र पूर्वाधार परियोजनामा लगानी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू