दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री गर्न शुरू गरेको छ । विगत वर्षहरुमा खाद्यले घटस्थापनादेखि नै बिक्री शुरु गर्ने गरेकोमा यसवर्ष वर्षा,बाढी र पहिरोका कारण केही दिन ढिला गरी बिक्री शुरू भएको हो ।खाद्य कम्पनीको थापाथली प्रादेशिक कार्यालयका प्रमुख ज्ञानु थापाका अनुसार थापाथलीबाट आज बिहान ८ बजेदेखि खसीबोका र च्याङग्रा बेच्न थालिएको छ । कम्पनीले प्रतिकिलो खसीबोकाको ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा किलोमा १० रुपैयाँ छुट दिएको छ । खाद्यमा खसीबोका किलोको ६ सय ६० रुपैयाँ पर्छ ।
यस्तै च्याङ्ग्रा किलोको एक हजार २ सय ३० रुपैयाँ मूल्य निर्धारण गरी त्यसमा १० रुपैयाँ छुुट दिएर एक हजार २ सय २० रुपैयाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार च्याङग्रा गएको वर्षभन्दा किलोमा ३० रुपैयाँले सस्तो भएको छ ।
पहिलो चरणमा हिजोसम्म दुई सय ८ वटा खसीबोका र तीन सयको सङ्ख्यामा च्याङ्ग्रा भित्रिएको छ । मुख्य चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न हरेक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । यसपटक दशैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने र बेच्ने यसअघि जनाएको थियो । खाद्यसँगै अरु निजी व्यापारी र व्यवसायीले पनि खसीबोका खरिद गरी काठमाण्डौमा ल्याएर बिक्री गर्न थालिसकेका छन् ।