अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०६ | Colorodo: 12:21

क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मत गरी यातायात सुचारु गर्न निर्देशन

बिआरटीनेपाल २०८१ असोज १८ गते ७:०९ मा प्रकाशित

संसदीय समितिले क्षतिग्रस्त राजमार्ग तथा सडकहरुको यथाशिघ्र मर्मतसम्भार गरी यातायात सुचारु गर्न सरकारलाई निर्देशन दिएको छ ।शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकले बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्गहरुको यथाशिघ्र मर्मतसम्भार गर्न सरकारलाई निर्देशन दिएको हो ।

मर्मतसम्भार गरी यातायात सुचारु गर्न समितिको निर्देशन छ । त्यसैगरी मौजुदा सार्वजनिक खरिद कानूनको व्यवस्थाले खर्च गर्न नसक्ने भएको भन्दै विपद् क्षेत्रहरुमा फास्ट ट्रयाकमार्फत सडक पुनःनिर्माण, बेलिब्रिज जडान लगायतका काम गर्न सरकारलाई निर्देशन दिइएको छ । त्यस्तै विपी राजमार्गमा अलपत्र परेका यातायात मजदुर र सर्वसाधारणको तत्काल उद्धार गर्न समितिले निर्देशन दिएको छ ।

समितिले मृतक तथा बेपत्ता व्यक्तिका परिवारलाई सरकारद्वारा प्रदान गर्ने राहत र क्षतिपूर्ति दशैँ अगाडी नै प्रदान गर्न सरकारलाई भनेको छ । त्यस्तै बाढी पहिरोका कारण बासस्थान गुमाएका व्यक्तिहरुलाई ७ दिनभित्र अस्थायी बसोवासको व्यवस्था गर्न र घाइतेको निःशुल्क उपचार गर्न पनि सरकारलाई निर्देशन दिइएको छ ।

त्यसैगरी दशैँमा घर जाने यात्रुहरुलाई सरकारले सहज रुपमा घर जाने वातावरण बनाउनका लागि राजमार्ग र सडकहरु मर्मतसम्भार गर्ने र यातायात व्यवस्थालाई सुव्यवस्थित, सुलभ र सुरक्षित बनाउन निर्देशन दिइएको समिति सचिव भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू